कर्णाली प्रदेशसभा: प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड


कर्णाली । कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्राकृतिक विपद् र समयसापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले यस वर्षको वैशाखमा आएको असिनापानीका कारण सल्यानको बागचौर गाउँपालिकाका किसानको अन्नबाली नष्ट भएको भन्दै क्षतिको यकिन विवरण सङ्कलन गरी पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
बैठकमा प्रदेशसभा मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्षका लागि प्राथमिकता र आवश्यकतामा केन्द्रित बजेट ल्याउन सरकारलाई सुझाए । प्रदेशसभा जीवनबहादुर शाहीले प्राकृतिक विपद्मा खोज तथा उद्धार र राहतका लागि आवश्यक बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आवको बजेट तर्जुमामा सुधार गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गरिने बताए । उनले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइने जनाउँदै नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता र आवश्यकताका आधारमा बजेट आउने प्रतिबद्धता जनाए ।






















