राष्ट्रियसभा बैठकः जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ, वैशाख २८। राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले संविधान र कानुनको परिधिभत्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।सभाको आजको बैठकमा उहाँहरुले महँगी नियन्त्रण र पेट्रोलिमय पदार्थको मूल्यवृद्धि फिर्ता लिइ अविलम्ब राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनआकाङ्क्षा सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।नेपाली कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले प्रक्रिया छोट्याएर कानुन बनाउन सकिने अवस्था हुँदाहुँदै अध्यादेश जारी गरिँदा संसद्को गरिमा कमजोर हुने बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले संविधानका विषयवस्तुबारे आफूहरुको असन्तुष्टि रहेको उल्लेख गर्दै संविधान संशोधनका क्रममा ती विषय सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता तुलप्रसाद विश्वकर्माले सुकुमबासी बस्ती व्यवस्थापन, अध्यादेशलगायत सरकारका पछिल्ला कामकारबाहीले प्रश्न उठाएको बताउनुभयो ।






















