राजनीति

कम्युनिष्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

नवलपुर टुडे
२०८३ बैशाख २८ | बिहान ०५:०१ बजे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिष्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् । स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा उनले हजारौँ तथा लाखौँ कार्यकर्ताहरू कम्युनिष्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको उल्लेख गरे । उनले नेतृत्व तहबाट समय–समयमा एकताका प्रयास भए पनि ती प्रयासहरू दीर्घकालीन रूपमा सफल हुन नसकेको बताए ।

उनले भने, ‘हजारौं र लाखौं कार्याकर्ताहरु पनि कम्युनिष्टहरुको बीचमा एकता होस् भन्ने पक्षमा छन् । ती प्रयासहरु पनि लिडरसिपको प्रयासबाट बेलामौकामा हुने पनि गरेका छन् । तर त्यो एकतालाई सुदृढ र दिगो बनाउनका वैचारिक बहस वा छलफल र निष्कर्ष आवश्यक छ । संगठनात्मक सिद्धान्त, नीति, विधिको विकासको काम भएको छैन् । परिणामतः ती एकताका प्रयासहरु विभिन्न रुपमा भएपनि ती दिगो र सफल हुन सकेनन् ।’

उनले वैचारिक बहस, छलफल र निष्कर्षमा पुग्ने प्रक्रिया तथा संगठनात्मक सिद्धान्त, नीति र विधिको विकास पर्याप्त रूपमा हुन नसक्दा एकता प्रयासहरू दिगो बन्न नसकेको बताए । प्रचण्डले कम्युनिष्ट आन्दोलनभित्रका विगतका विभाजन र एकताका श्रृंखलाबाटै वर्तमान अवस्था बनेको उल्लेख गर्दै एकताको आवश्यकता भने अझै कायम रहेको स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलनको एकता आवश्यक छैन भन्ने निष्कर्ष निकाल्नु गलत हुने बताए ।

कमेन्टहरु