स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन


चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो ।तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।
निर्देशिका अनुसार बसमा फोहर फाल्ने डस्टबिन तथा अग्नि नियन्त्रण यन्त्र नभएको, प्राथमिक उपचारका लागि सामग्री नभएको पाइएपछि ती बसलाई तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको प्रहरी निरीक्षक थापाले बताए ।
कार्यालयले यही वैशाख २३ देखि २५ गतेसम्म विद्यालयका बसको यान्त्रिक परीक्षण तथा सवारी चालकको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा २५० जना सवारीचालक तथा परिचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले सोही क्रममा महानगरभित्र रहेका विद्यालयका बसको वायुप्रदूषणको अवस्थासमेत परीक्षण गरेको थियो । विद्यालयले सञ्चालनमा ल्याएका पुराना २५ वटा बसको वायुप्रदूषण मापन गरिएकामा आठ वटाले धुवाँ उत्सर्जन गरेको पाइएको थापाले जानकारी दिए ।






















