नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी


युएई । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
राजदूतावास परिसरमा आयोजित कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकको सहभागिता थियो । कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा विदेशमा हुने खोजतलास, उद्धार, व्यवस्थापन, क्षतिपूर्ति तथा श्रमिक सहायतासम्बन्धी निवेदन नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा सञ्चालित अनलाइन प्रणालीमार्फत दर्ता गर्न सकिने जानकारी दिइएको थियो ।
राजदूतावासका तृतीय सचिव विमलेशकुमार मिश्रले राहदानी तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा सहभागी श्रमिकले यस्ता सचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
सहभागीले न्यूनतम पारिश्रमिक, श्रम मापदण्डको पालना तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको श्रम, सीप र योगदानको सम्मान तथा संरक्षणका लागि नेपाल सरकारले थप पहल गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा दैनिक जीवन र कार्यस्थलमा हुने आकस्मिक घटनामा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा ‘फर्स्ट एड’ सम्बन्धी व्यावहारिक जानकारीसमेत प्रदान गरिएको थियो ।कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहित राजदूतावासका कूटनीतिक कर्मचारीको उपस्थिति थियो ।






















