देश

अस्पताल अनुगमन सुरु

रासस
२०८३ बैशाख २७ | बिहान ०९:०१ बजे

काठमाडौँ । सरकारले सरकारी र निजी अस्पतालको अनुगमन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरेको हो ।

टोलीले सरकारी तथा निजी अस्पतालहरूको दैनिक अनुगमनलाई उच्च प्राथमिकताका साथ तीव्रता दिएको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए । यसै अभियानअन्तर्गत गत हप्ता कान्तिबाल अस्पताल र अल्का अस्पतालमा छड्के अनुगमन गरिएको छ ।

हाल सघन सुपरिवेक्षण र सुधारका लागि सचेत गराउने कार्य भइरहे पनि अनुगमनका क्रममा तोकिएको मापदण्ड र गुणस्तरमा कुनै पनि कमजोरी वा लापरबाही भेटिएमा जिम्मेवार अधिकारीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही अगाडि बढाउने गरी मन्त्रालयले नियमनमा पछिल्लो समय निकै कडाइ गरेको छ ।

अस्पतालको अनुगमन लगत्तै अब फार्मेसीलगायत स्वास्थ्य सेवा प्रवाह हुने अन्य सबै केन्द्रमासमेत अनुगमनलाई तीव्र पार्ने मन्त्रालयको तयारी छ ।

कमेन्टहरु