सुनसरीमा ७ फरार प्रतिवादी पक्राउ


सुनसरी । सुनसरीमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई सुनसरीको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चोरी मुद्दामा फरार रहेका धरान उपमहानगरपालिका–१५ का तेजबहादुर श्रेष्ठलाई सुनसरी जिल्ला अदालतको २०८१ चैत ७ गतेको फैसलाअनुसार रु पाँच हजार जरिवाना १५० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको थियो ।
यस्तै,चेक अनादर मुद्दाका इटहरी उपमहानगरपालिका–१८ का सविन कुमार खतिवडालाई २०८० चैत ४ गतेको फैसलाअनुसार रु एक हजार जरिवाना, चोरी मुद्दाका धरान उपमहानगरपालिका–१ का दीपक रिषिदेवलाई रु तीन हजार जरिवाना तथा सार्वजनिक मुद्दामा बराहक्षेत्र नगरपालिका–२० भरत पौडेललाई अदालतले २०७६ भदौ २६ गतेको फैसलाअनुसार रु पाँच हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले जानकारी दिए ।पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






















