राजनीति

सरकारले अध्यादेशमार्फत शासन चलाउने प्रयास जनमतको अवमूल्यनः एमाले

नवलपुर टुडे
२०८३ बैशाख २६ | मध्यान्ह ०८:०१ बजे

काठमाडौँ । नेकपा एमालेले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको हो।

एमाले प्रमुख सचेतक ऐन महरले सरकारले संसद्‌लाई उपेक्षा गर्दै कठपुतली बनाउन खोजेको आरोप लगाए। उनले भने, ‘संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको प्रयास अलोकतान्त्रिक, अराष्ट्रिय र जनमतको अवमूल्यन हो। अध्यादेशका माध्यमबाट लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने कार्यको एमालेले सशक्त प्रतिवाद गर्नेछ।’

बैठकमा सुकुम्वासी व्यवस्थापनका नाममा सरकारले डोजर आतंक सिर्जना गरेको र मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको विषयमा पनि छलफल भएको छ।राज्यले नागरिकको आत्मसम्मानमा चोट पुर्‍याएको र कतिपय अवस्थामा आत्महत्याका लागि दुरुत्साहन गर्ने परिस्थिति निर्माण गरेको भन्दै एमालेले यस विषयलाई आगामी सदनमा सशक्त रूपमा उठाउने निर्णय गरेको छ।

वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ। सदनको कारबाही सुचारु हुने वा नहुने भन्ने कुरा सरकारको व्यवहारमा निर्भर रहने प्रमुख सचेतक महरको भनाइ छ।

कमेन्टहरु