देश

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

रासस
२०८३ बैशाख २६ | बिहान ०९:०१ बजे

बेलायत, वैशाख २५। बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ । त्यस्तै उहाँकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ ।यसअघि सोही बरोको मेयर तथा उपमेयरको जिम्मवारी पूरा गरेका रानाभाट एक हजार ६१० मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो । प्लमस्टेड एन्ड ग्लिन्डनमा तीन वटै सिट लेबर पार्टीले जितेको छ । लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिल निर्वाचित हुनुभएको छ ।

रानाभाट पत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित हुनुभएको हो । उहाँले एक हजार २९२ मत प्राप्त गर्नुभएको छ । एबिउडमा पनि तीनवटै सिट लेबरले जितेको छ । रानाभाट दम्पती दुवै लेबर पार्टीबाट चुनावी मैदानमा होमिनुभएको थियो ।

उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेल्वासे निर्वाचित हुनुभएको छ । कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे ८९१ मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो । सोही बरोको वेलिङटन वार्डमा पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५५१ मतसहित काउन्सिलर निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीबाट एक हजार १८० मतसहित निर्वाचित प्रतिक्षा गुरुङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ । कन्जरभेटिभ पार्टीका उम्मेदवार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ । उहाँले एक हजार ९५१ मत प्राप्त गर्नुभएको छ । बेलायतमा बिहीबार सम्पन्न निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यो निर्वाचनमा बेलायतको सत्तारुढ दल लेबर पार्टीलाई ठूलो झड्का लागेको छ । बेलायतको समयअनुसार शुक्रबार मध्यरातिसम्म प्राप्त नतिजाअनुसार कूल १३६ काउन्सिलमध्ये १३१ को नतिजा प्राप्त हुदाँसम्म नाइजल फराज नेतृत्वको रिफर्म युकेले सबैभन्दाबढी एक हजार ४४३ काउन्सिलर सिट जितेको छ ।

दोस्रो स्थानमा रहेको सत्तारुढ लेबरले ९५९ र तेस्रो स्थानको लिब्डेमले ८३४, कन्जरभेटिभले ७७३, ग्रीनपार्टीले ५११ तथा अन्यले २४४ काउन्सिलर पद जितेका छन् । सत्तारुढ पार्टीले यसअघिको तुलनामा करिब एक हजार ३९५ सिट गुमाएको हो । अधिकांश सिट फराज नेतृत्वको रिर्फमले कब्जा गरेको छ । उसले अघिल्लो चुनावको तुलनामा एक हजार ४४१ बढी सिट जितेको हो ।रा

कमेन्टहरु