चितवनका कबड्डी खेलाडीलाई पुर्व राष्ट्रिय खेलाडी गुरुङद्वारा खेल सामग्री सहयोग


चितवन। बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी हुने चितवनका कबड्डी खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिका अध्यक्ष एंव पूर्व राष्ट्रिय खेलाडी पूर्णबहादुर गुरुङले पुरुष तथा महिला कबड्डी खेलाडीलाई जुत्तालगायतका खेल समाग्री सहयोग गरेका हुन् । उक्त खेल सामग्री आज एक कार्यक्रमकाबीच चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की र गुरुङ स्वयंले खेलाडीहरुलाई हस्तान्तरण गरे ।
सो क्रममा जिल्ला खेलकुदका अध्यक्ष कार्कीले प्रतियोगिता अघि यस किसिमको सहयोगले खेलाडीहरुको मनोवल उच्च हुने बताए । खेल क्षेत्रमा यस्ता स-सना सहयोगले सकारात्मक प्रभाव पनर्ने उनको भनाई थियो । यस्तै प्रतियोगिताका लागि चितवनमा नै पहिलो पटक बन्द प्रशिक्षण आयोजना गरेर राम्रो नतिजाका लागि खेलाडीलाई तयार पारिएको कार्कीले बताए ।
गरुङले खेलाडीहरुलाई खेल सामग्री अभाव हुन नदिन सहयोग गरिएको बताए । आफु स्वयं पूर्व राष्ट्रिय खेलाडी भएको र खेलाडीहरुको समस्या बारे आफु जानकार रहेको उनले बताए । उनले सबै खेलाडीलाई सफलताको कामना गरे । कार्यक्रमलाई चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव रामजी ढकालले सहजिकरण गरेका थिए ।






















