खेलकुद

दोलखा जिल्लामा अन्तराष्ट्रिय बुद्धिचाल खेल हुने 

राजु ताम्राकार
२०८३ बैशाख २६ | बिहान ०६:०१ बजे

दोलखा । दोलखा चेस होम, नेपालले यहि बैशाख २८ गतेदेखि जेठ २ गते सम्म छैटौं खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजनाको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। क्लबका अध्यक्ष एवं प्रतियोगिताका संयोजक गोविन्द मान श्रेष्ठले अन्तर्राष्ट्रिय चेस स्पर्धाको छैटौं संस्करणमा क्लासिकल तथा रापिड दुई विधाको खेल सञ्चालन गर्ने बताएका छन्।

शुक्रबार सम्पन्न पत्रकार सम्मेलनमा दोलखा जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष उद्धव पोखरलले दुबै चेस विधाकाे च्याम्पियन ट्रफि तथा मेडल सार्वजनिक गरेका छन्। चरिकोट स्थित सिम्पानी सभाहलमा सञ्चालन हुने चेस प्रतियोगितामा नेपाल सहित अमेरिका, रसिय, चाइना, मंगोलिया, फिलिपिन्स, भारत, बंगलादेश, श्रीलंका लगायतका १० राष्ट्रका खेलाडीहरुको सहभागीता रहने जानकारी गराएका छन्।

रसियाका २४८६ रेटेड ग्रायण्ड मास्टर किरियाकोभ पिटले उच्च वरियता प्राप्त गरेका छन् भने भारतका २३३१ रेटेट अर्पण दास दोस्रो वरियता र बंगलादेशका २१५६ रेटेड एफएम नयम हक तेस्रो वरियता लिएर प्रतिस्पर्धामा होमिने भएका छन्।  नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल २१०३ रेटिङ सहित चौथो वरियतामा हुनेछन् भने अन्य खेलाडीको हकमा जुनियर १० वर्ष देखि सिनियर ८५ वर्षका खेलाडी गरि ३५० जनाले प्रतिस्पर्धा गर्नेछन्।

विश्व बुद्धिचाल महासंघ (फिडे), एशियन चेस फेडेरेशन (एआईसिएफ), नेपाल बुद्धिचाल महासंघ(एनसिएफ)को तत्त्वावधानमा सञ्चालन हुने अन्तर्राष्ट्रिय चेसका लागि कूल २५ लाख ५२ हजार खर्च हुने अनुमानित बजेटमा विजेयी खेलाडीहरुले नगद ६ लाख ६७ हजार ५ सय पुरस्कार प्राप्त गर्ने छन्।  जस अन्तर्गत ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको क्लासिकल विधामा ५ लाख २ हजार नगद पुरस्कार रहनेछ भने महासंघका पूर्व उपाध्यक्ष एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृति रापिड विधा तर्फ १लाख ७१ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ। 

प्रतियोगिताको दुवै विधा तर्फ शीर्ष १५ जना सहित उत्कृष्ट महिला, सिनियर, लोकल, युवा १२,१४,१६ वर्ष, नयाँ खेलाडी, रेटिङ १६ र १८ सय मुनि गरि जम्मा १०८ जनाले पुरस्कार रकम बाँड्ने छन्।  फिडे इभेण्ट कोड ४७१७९१ मान्यता प्राप्त अन्तर्राष्ट्रिय खेलको प्रमुख निर्णायक नेपाली अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिको रेखदेखमा प्रतियोगिता सञ्चालन हुनेछ। 

मोफसलमा खेल आयोजना गरि खेल बिकास तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आयोजना हुने स्पर्धामा स्थानीय पालिकाका जनप्रतिनिधि सहित राखेपका सदस्यसचिव रामचरित्र मेहता, महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले कार्यक्रम समारोहमा सहभागी जनाउने छन्।

कमेन्टहरु