बिपी राजमार्गः जानकारी लिएर मात्र यात्रा गर्न आग्रह


काभ्रेपलाञ्चोक,वैशाख २३। बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ ।
समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने भएकाले मङ्गलबारदेखि रातिको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमित गराइनेछ ।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनको समयमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपिलसमेत गरिएको छ । बेमौसमी वर्षाका कारण पटकपटक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो ।
गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।






















