बुढासुब्बा कप (यूएई) को दोस्रो संस्करण मे ९ मा हुँदै


🏆 बुढासुब्बा कप (यूएई) को दोस्रो संस्करण मे ९ मा हुँदै
प्रवास दुबई, यूएई — मोफसलकै चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्ड कप लाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले धरान युनाइटेड फुटबल क्लब, यूएईले दोस्रो संस्करणको बुढासुब्बा कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार उक्त प्रतियोगिता २०२६ मे ९ मा दुबईस्थित वुल्डलेम स्कूलको खेलमैदानमा सञ्चालन हुनेछ। यूएई नेपाली फुटबल संघ (यूएनएफए) को संयोजनमा हुने यो प्रतियोगिता सात–ए–साइड (7-a-side) ढाँचामा खेलाइनेछ। प्रतियोगितामा हालसम्मकै उच्च पुरस्कार राशि राखिएको आयोजक संयोजक स्विकार राईले जानकारी दिनुभयो।
धरान युनाइटेड फुटबल क्लबले हरेक वर्ष विभिन्न फुटबल प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। गत वर्ष सम्पन्न धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ उच्च पुरस्कार राशिसहित सफलतापूर्वक सम्पन्न भएको थियो। साथै, हालै मात्र भेटेरान्स बुढासुब्बा कप पनि सफलतापूर्वक आयोजना गरिएको थियो। यसपटकको प्रतियोगितामा आयोजक धरान युनाइटेड फुटबल क्लबसहित कुल २४ वटा क्लबहरूको सहभागिता रहनेछ, जसमा २२ वटा नेपाली क्लबहरू समावेश हुनेछन्।
प्रतियोगिताको विजेताले ५,५५५ दिराम (करिब रु. २,२२,०००) र उपविजेताले ३,००० दिराम (करिब रु. १,२०,०००) पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तथा यूएई नेपाली फुटबल संघका उपाध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगितालाई सफल बनाउन प्रभु बैंक, जीसीडी ग्रुप अफ कम्पनीज, कदूश प्रोपर्टिज, माइक्रोफ्याब स्ट्रक्चरल म्यानुफ्याक्चरिङ स्टिल एलएलसी तथा टप रेस्टुरेन्टले प्रायोजन गरेका छन्। साथै, आधिकारिक मिडिया पार्टनरको रूपमा नवलपुर टुडे र अफिसियल फोटोग्राफी पार्टनरको रूपमा सबिन फोटोग्राफी रहनेछन्।






















