रोल्पा दुर्घटनामा २० तीर्थयात्रीको मृत्यु


रोल्पा । रोल्पाको थबाङमा बिहीबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वको रुकुमकोटबाट प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका–१ र ४ को सिमानास्थित डाँडाबाट करिब ८०० मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो ।
लगातारको वर्षाले हिलाम्मे र चिप्लो बनेको सडकमा सन्तुलन गुमाउँदा जिप सिधै उवातर्फको गहिरो खोंचमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना कति भयानक थियो भन्ने कुरा जिप खसेको गहिराइले नै पुष्टि गर्छ ।
प्रहरीका अनुसार ८०० मिटर तल भीरमा छरिएका शवहरू संकलन गरी सडकमाथि ल्याउन सुरक्षाकर्मी र स्थानीयलाई हम्मेहम्मे परिरहेको छ । झरी र अप्ठ्यारो भूगोलका कारण उद्धार कार्य सुस्त बनेको छ भने हालसम्म मृतक कसैको पनि पहिचान खुल्न सकेको छैन ।
यस हृदयविदारक घटनाले लुम्बिनी प्रदेशलाई नै शोकमा डुबाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घटनाप्रति गहिरो स्तब्धता प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनाको कारणको खोजी गर्दै आगामी दिनमा सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न र जोखिमपूर्ण सडकको तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ ।
घटनास्थलमा स्थानीयको सहयोगमा प्रहरीले उद्धार गर्दै शवहरू माथि ल्याउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । शव सबै संकलनपछि मात्रै मृतकको पहिचान कार्य हुने र थप विवरण संकलन गर्ने काम गरिने प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।






















