चेस श्रृङखला जारी


१६ बैशाख, काठमाडौं ।
क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व. रामहरी कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ ।
नेपाल बुद्धिचाल महासंघको नियमित राष्ट्रिय प्रतियोगिता मध्येको रापिड चेसमा पुरुष तथा महिला दुबै तर्फ पाँच पाँच चरणको खेल सञ्चालन भएका छन् ।
प्रतिस्पर्धामा महिला तर्फ कूल ७ चरणको खेल मध्ये सम्पन्न ५ चरण सम्मको स्पर्धामा झापाका कृतिसरा अधिकारीले सबै खेल जितेर पूर्ण ५ अंक जोड्न सफल भएका छन्।
रापिड राष्ट्रिय महिला च्याम्पियन बन्ने दाउमा रहेकी कृतिसराले क्रमशः दोलखाका निहाना श्रेष्ठ, खोटाङका कुशुम धिसिङ, काठमाडौंका बिनिता कपाली, मोरका शान्ति धिमाल र काडौंका राधिका पौडेल माथि जीत दर्ता गरेका हुन्।
स्पर्धामा कृतिसरा सँग पराजित काठमाडौंका बिनिता कपालीले खेलमा कमब्याक गर्दै ४ अंक कट प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोश्रो स्थान ओगट्न सफल बनेका छन्। समान ४ अंक बनाएर दोलखाका निहाना श्रेष्ठ तेस्रो स्थानमा उभिएका छन्।
यस्तै युवा खेलाडी द्वय नेपालगञ्जका ईशा गिरि र काठमाडौंका राधिका पौडेल समान ३.५ अंक सहित चौथो र पाँचौ स्थान सुरक्षित गरेका छन्।
यसैगरी पुरुष तर्फ हेटौंडाका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष् फूँयाल र काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल समान ५ अंक जोडेर संयुक्त रुपमा अग्रस्थानमा बसेका छन्।
शीर्ष खेलाडी एफएम रुपेश जैसवालले दोश्रो खेलमा ब्रण्डर गरेपछि पहिलो स्थान हत्याउन यी तीन खेलाडीहरु कडा प्रतिस्पर्धामा छन्।
खेलमा प्रतीक सुवेदी ३.५ अंक जोडेर एकल द्वितीय स्थानमा छन् भने १२ जना प्रतिस्पर्धीहरु ४ अंक बनाउदै सम्भावना जगाइ राखेका छन्। पुरुष तर्फ ९ चरणको खेल हुनेछ।
यसअघि काठमाडौं महानगरपालिका १७ वडा अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरले कार्यक्रमको उदघाटन गरेको थियो। काठमाडौं महानगरपालिका नागरिकको आवश्यकतामा साथ रहँदै आएको स्मरण गर्दै खेलकुद सँग अझ बढि प्रगाढ बनेको जिकिर गरेका छन्।
समारोहमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले प्रत्येक वर्ष राष्ट्रिय खेलको आयोजना गर्दै यसलाई निरन्तरता दिएको बताए।
क्षेत्रपाटी क्लबको वार्षिक उत्सव अवरसरमा संयोजक एवं क्लबका अध्यक्ष गोपाल मालीले विजेता खेलाडीहरुलाई नगद रु. ३ लाख पुरस्कार प्रदान गरिने बताए ।
उनले पुरुष खुल्ला तर्फ प्रथम हुनेले रु. ३५ हजार, द्वितीयले रु. २५ हजार तथा तृतीयले १५ हजार र महिला तर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार तथा तृतीयले ५ हजार पुरस्कार प्राप्त गर्ने बताए ।
प्रमुख निर्णायक एफए सोराज ताम्राकारले राष्ट्रिय रापिड तथा ब्लिट्ज बुद्घिचाल प्रतिस्पर्धामा १६४ जना सहभागीता बिच बिहिवार थप खेल सञ्चालन हुने जानकारी गराएका छन्। 

















