अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन


चितवन । जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसँगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उनले निर्देशन दिए । चिकित्सकहरुको व्यवहार राम्रो नभएको, डायलासिस लगायतका सेवा दर्ता नगरी दिएको, एम्बुलेन्सहरुले बिरामी ल्याएबापत कमिसन दिने गरेको, अस्पतालजन्य फोहोर व्यवस्थित नगरिएको उनको भनाइ थियो ।
अस्पतालहरुको सेवाको गुणस्तर राम्रो नभएको भन्दै उनले भने, “गुणस्तरका व्यवहार र शैली परिवर्तन गर्नुपर्छ ।” जिल्ला प्रशासन कार्यालय चितवन र जनस्वास्थ्य कार्यालयले यहाँ आयोजना गरेको ‘जिल्लामा नागरिक स्वास्थ्य सेवा विषयक परामर्श’ उनले अस्पतालका व्यवस्थापक र सञ्चालकहरुको कुरा सुनेपछि निर्देशन दिएका हुन् ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालका समस्याहरु, कमजोरीहरु र अब सुधार्नुपर्ने विषयमा प्रस्तुति दिए ।पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवामा व्यापक सुधार गरिएको भन्दै उनले विगतमा बिरामीले चिकित्सक खोज्नुपर्ने अवस्था रहेकामा अहिले चिकित्सकले अस्पतालमा बिरामी खोज्ने गरेको बताए ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा धेरै सुधार भएको भन्दै तथ्याङ्कले त्यो कुरा पुष्टि गर्ने बताए । उनले अझै धेरै सुधार गर्नुपर्ने भन्दै सरकारले दिनुपर्ने विपन्न र बीमाको भुक्तानी समयमा दिएमा अस्पताल सुधार गर्न सहज हुने बताए ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले ऐनका बारेमा जानकारी गराउँदै तत्अनुसार काम हुन नसकेको बताए ।निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीले निजी क्षेत्रले स्वास्थ्यमा ठूलो लगानी गरेको भए पनि राज्यका तर्फबाट सम्बोधन गर्नुपर्नेमा ध्यान नदिइएको बताए ।
कार्यक्रममा निजी अस्पताल र क्लिनिकहरुका सञ्चालकहरुले आफ्ना गुनासाहरु राखेका थिए । यस्तै यातायात व्यवसायीहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने सुझाव दिएका थिए ।






















