समाचार

६ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

रासस
२०८३ बैशाख ११ | बिहान ०६:०१ बजे

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपांग्रे र चारपांग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) ६ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ ।

कार्यालयले मंगलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमतिपत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए । अझै एक लाख सवारीपत्र छपाइ भएर आउन बाँकी रहेको उनले बताए ।

उनले भने, “मंगलबारदेखि लाइसेन्स वितरण सुरु गरेका छौँ, पहिलो दिन ८०० वितरण गर्यौँ, दोस्रो दिन र तेस्रो दिनसम्म गरेर तीन हजार वितरण गर्यौँ, आठ कर्मचारी लाइसेन्स वितरणमा बिहान ९ देखि बेलुका ५ बजेसम्म खटिँदा पनि एक हजारभन्दा बढी वितरण गर्न सकिँदैन, यही अवस्थामा सबै लाइसेन्स वितरण गर्न ६ महिना समय लाग्छ ।”

लाइसेन्स लिन दैनिक भीड नगर्न सेवाग्राहीलाई आग्रह गर्दै उनले लाइसेन्सको बिलदेखि मोबाइल एप्स प्रयोग गरेर लाइसेन्स देखाउन सकिने भएकाले भीड नगरी विस्तारै आइदिन सेवाग्राहीलाई आग्रह गरे ।

कार्यालयले सवारी अनुमतिपत्र वितरण सुरु गरेपछि चार वर्षदेखि लाइसेन्स लिन कुरिरहेका सेवाग्राहीको भीड बढेको छ । बिहान ७ बजेदेखि नै सेवाग्राहीको भीड लागेपछि बिहान ९ बजे कार्यालय खुल्नेबित्तिकै सवारी अनुमतिपत्र वितरण गर्ने गरेको बस्नेतले जानकारी दिए ।

नवीकरणका लागि आवेदन दिएका र लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्सका लागि चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीले अहिलेसम्म रसिदका भरमा सवारीसाधन सञ्चालन गर्दै आएका थिए ।

कमेन्टहरु