महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ


काठमाडौं,वैेशाख १०। नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक ९एआईजी० दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । उनले नागरिकस्तरबाट प्राप्त सहयोग र सद्भावले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको उल्लेख गरे ।
उनले विशेषगरी सडक सुरक्षालाई अत्यन्त संवेदनशील क्षेत्रका रूपमा औंल्याउँदै नागरिकहरू घरबाट बाहिरिएपछि सुरक्षित रूपमा गन्तव्यमा पुग्न र पुनः परिवारसँग फर्किन पाउने वातावरण सुनिश्चित गर्नु प्रहरीको मुख्य दायित्व भएको बताए ।
‘सामान्यतया सुरक्षाको कुरा गर्दा सुरक्षाभित्र एउटा नागरिक जन्मिदा गर्भमा रहेको भ्रूणको सुरक्षा हुन्छ । जन्मपछि स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षाको कुरा हुन्छ । कानुनी सुरक्षाका कुरा हुन्छन् । जिउँधनको सुरक्षा महत्वपूर्ण हुन्छ । यस्तो सुरक्षाको अंश चाँही सबै सुरक्षाका विषयहरुभन्दा अझ महत्वपूर्ण छ । एउटा व्यक्ति घरबाट बाहिर निस्किएपछि सुरक्षित रुपमा बाटोमा हिड्न सकोस् र सुरक्षित हिसावले बाहिर गएको मान्छे घरमा परिवारसँग फेरि फर्केर आएर मिल्न सकोस् । त्यो बाटोमा हिँड्दाखेरि कतै अवरोध नहोस्, कोही खाल्डोमा नछिरोस्, ढलबाट छिरेर बागमति वा विष्णुमतिको खोलामा झर्न नपरोस् । सवारी साधनले ठक्कर दिएर घाइते भयो भन्ने सुन्न नपरोस्, मृत्यु भयो भन्न सुन्न नपरोस् । सबै सुरक्षाका बृहत्तर विषयभित्र प्रहरी आवद्ध छौं,’ उनले भने ।
उनले सडकमा हुने दुर्घटना, अव्यवस्थित ढल तथा खाल्डाखुल्डी जस्ता जोखिमबाट नागरिकलाई जोगाउनु आवश्यक रहेको धारणा राखे । साथै, सवारी साधन सञ्चालनका क्रममा चालकको अवस्था, मादक पदार्थ वा लागूपदार्थ सेवनजस्ता विषयले यात्रुको सुरक्षामा पार्ने प्रभावप्रति पनि प्रहरी सजग रहनुपर्ने बताए ।
कार्यक्रममा उनले ट्राफिक प्रहरीहरूको कार्यपरिस्थितिबारे पनि चर्चा गर्दै दिनभर सडकमा खटिने प्रहरीका लागि आधारभूत सुविधा आवश्यक हुने उल्लेख गरे । ‘सेवा चाहिने तर बस्ने ठाउँ नहुने अवस्था स्वीकार्य हुन सक्दैन,’ उनले भने।
ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पूरानो भवन २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएको थियो । पुनःनिर्माणपछि सञ्चालनमा आएको नयाँ भवनले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।






















