देश

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ सम्मान

राजु ताम्राकार
२०८३ बैशाख ९ | बिहान ०८:०१ बजे

८ बैशाख, ललितपुर ।

ललितपुर सम्वाददाताinbound770883831667930994
ने.सं. ११४६ वछलाथ्व अक्षयतृतीयाको शुभ दिनमा नेपालका सर्वाधिक ख्याति प्राप्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन अवसर पारेर “ ललितरत्न ” उपाधिवाट विभूषित गरिएको छ।
ललितपुर महानगरपालिका वडा नं. १६ वडा कलाकार समितिको आयोजनामा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई उक्त विशेष उपाधिले सम्मान गरिएको छ।
यसै अवसरमा नेपालभाषा मंकाः खलः, यलको तर्फवाट अध्यक्ष महेन्द्रलाल महर्जन, सचिव राजु ताम्राकार, सदस्य न्हुछे बहादुर महर्जन, रेनुका बज्राचार्यले कलात्मक काष्ठ निर्मित सम्मान पत्रद्वारा अभिनन्दन गरेको छ।
विश्व सम्पदा स्थल पाटनको कार्तिक दबलीमा विभिन्न २१ सामाजिक संघसंस्थाहरुको समूहले सम्मान पत्र हस्तान्तरण गर्दै हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गरिएको हो ।
ललितपुर महानगरपालिका वडा नं. १६ अध्यक्ष निर्मलरत्न शाक्यको सभापतित्वमा सञ्चालन भएको नागरिक अभिनन्दन कार्यक्रममा परम्परागत नेवारी सगुन प्रदान गरिएको थियो।
कार्यक्रममा ललितपुरका प्रवुद्ध व्यक्ति, नागरिक समाज, कलाकार वर्ग तथा साँस्कृतिक समूहले धाः बाजा, स्वस्ति वाचन, आर्यतारा अमोघसिद्धि चर्या नृत्यको, बालबालिकाद्वारा प्रस्तुत सयथरि बाजा एउटै ताल नृत्य नाचको श्रवण गरेका थिए ।
उक्त दबलीमा अभिनन्दन ग्रहन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘फुलबुट्टे साडी’, ‘अरबौं मान्छेहरुमा’, ‘खोला वारि खोला पारी’ जस्ता आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।
समारोहमा यमन श्रेष्ठ, रिंकु बज्राचार्य श्रेष्ठ, सरिता महर्जन, निसा देसार, भुपेन्द्र बज्राचार्यले सांगीतिक प्रस्तुतिमा योगदान गरे भने सुरजवीर बज्राचार्य तथा सुजाता शाक्यले कार्यक्रम सञ्चालन गरेको थियो।
वरिष्ठ कलाकारको जन्मदिन अवसर पारेर विहान सञ्चालन गरेको रक्तदान कार्यक्रममा उलेख्य नागरिकले सहभागीता जनाएका थिए ।

कमेन्टहरु