सुनसरीको लौकहीबाट ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरी, बैशाख ७ । सुनसरी जिल्लाको कोशी गाउँपालिका- २ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीबाट प्रहरी नायब वरिष्ठ निरीक्षक धर्मेन्द्र कार्कीको नेतृत्वको प्रहरी टोलीले देवकी सरदारको घरमा चेकजाँच तथा खानतलासी गर्दा किराना पसल रहेको कोठामा लुकाई–छिपाई राखिएको अवस्थामा ७५.३३ केजी गाँजा फेला पारेको हो।
पक्राउ पर्नेमा कोशी गाउँपालिका–२ का ७० वर्षीय लक्ष्मी सरदार, ४२ वर्षीया देवकी सरदार र भारतको विहार राज्य, अररिया जिल्ला तिनखम्बा बेलहा बस्ने २६ वर्षीय सहवाज आलम रहेका छन्। आलमले प्रयोग गरेको बीआर ३८ एजी ०५५९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद लागूऔषध, मोटरसाइकल तथा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।






















