झापाको शिवसताक्षीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ


झापा । झापाको शिवसताक्षी नगरपालिकामा लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षी-७, चन्द्रडाँगी बस्ने ३२ वर्षीय गंगाबहादुर मगर रहेका छन्। उनले आफ्नै घरमा लागूऔषध सेवन तथा बिक्री गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
शनिबार बिहान करिब ११:४५ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले मगरको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको सुत्ने कोठाभित्र प्लाष्टिकमा स-साना पोका बनाएर बिक्रीका लागि तयार पारिएको अवस्थामा १३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर (खैरो हिरोइन) फेला परेको थियो।
ब्राउन सुगरसहित पक्राउ परेका मगरलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पछिल्लो समय प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागूऔषध विरुद्धको सक्रियता बढाएको छ।






















