दुर्घटना

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर टुडे
२०८३ बैशाख ६ | बिहान ०५:०१ बजे

झापा । झापाको गौरादह नगरपालिका–१ सीतापुरी चोकस्थित पाडाजुँगी-गौरीगञ्ज सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय पदम बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।

दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र.न.१-०१-०१५प ७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक झापा दमक नगरपालिका–९ बस्ने ३३ वर्षीय दीप बहादुर मगर सकुशल रहेका थिए भने मोटरसाइकल पछाडि सवार सोही स्थानका २७ वर्षीय पदम बहादुर मगर घाइते भएका थिए।

दुर्घटना लगतै घाइते पदम बहादुरलाई स्थानीय नगर अस्पताल गौरादह लगिएको थियो। त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएकोमा स्वास्थ्य अवस्था थप जटिल भएपछि सोही राति २२:१० बजे विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो। उपचारकै क्रममा आज बिहान ०३:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल मृतकको शव नोबेल अस्पतालमै रहेको छ। घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल अहिले इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ।

कमेन्टहरु