दुबईमा नेपाली छात्राको ऐतिहासिक उपलब्धि — CBSE कक्षा १० मा ९८.८% सहित विद्यालय प्रथम


प्रवास, दुबई यूएई— Gulf Indian High School मा अध्ययनरत नेपाली छात्रा साक्षी भट्टराईले Central Board of Secondary Education (CBSE) अन्तर्गत कक्षा १० को बोर्ड परीक्षामा ९८.८ प्रतिशत अंक ल्याउँदै विद्यालय प्रथम (School Topper) बन्न सफल भएकी छन्।
पाल्पा जिल्लाबाट सम्बन्ध राख्ने साक्षीले सानो उमेरमै अद्भुत शैक्षिक क्षमता प्रदर्शन गर्दै यूएईस्थित विद्यालयमा उत्कृष्ट नतिजा हासिल गरेकी हुन्। उनको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई विदेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। विशेषगरी प्रतिस्पर्धात्मक CBSE पाठ्यक्रममा यति उच्च अंक ल्याउनु आफैंमा उल्लेखनीय मानिन्छ।
साक्षीका पिता शारदा प्रसाद भट्टराई (राजु), जो विगत करिब ४५ वर्षदेखि यूएईमा कार्यरत छन्, र माता शिला कोइराला भट्टराईले छोरीको उपलब्धिलाई अत्यन्त गर्वका साथ लिएका छन्। परिवारले साक्षीको निरन्तर मेहनत, अनुशासन र अभिभावकको साथ–सहयोग नै सफलताको मुख्य आधार भएको बताएका छन्। विद्यालय प्रशासनले पनि साक्षीको प्रदर्शनलाई अत्यन्त प्रशंसनीय भन्दै उनको उज्ज्वल भविष्यको कामना गरेको छ। शिक्षकहरूका अनुसार साक्षी सुरुदेखि नै लगनशील, अनुशासित र लक्ष्यप्रति प्रतिबद्ध विद्यार्थी रहँदै आएकी थिइन्।
सामाजिक सञ्जालमा समेत साक्षीको सफलताले व्यापक चर्चा पाएको छ। यूएईमा रहेका नेपाली समुदायले उनलाई बधाई दिँदै आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्। यसैबीच, साक्षीको यो उपलब्धि सम्भवतः यूएईमा नेपाली विद्यार्थीबाट प्राप्त उच्चतम नतिजामध्ये एक मानिएको छ, जसले नेपाली समुदायको गौरव थप उचो बनाएको छ।
साक्षी भट्टराईलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।






















