दुबई यूएई, बिश्व, समाचार

यूएईको अस्पतालले नेपाली बिरामीको २४ लाख रुपैयाँ बिल मिनाहा

कबिराज राजबंशी
२०८३ बैशाख ५ | मध्यान्ह ०७:०१ बजे

प्रवास दुबई, यूएई| संयुक्त अरब इमिरेट्सको Mediclinic Hospital मा पक्षाघात (प्यारालाइसिस) भएर विगत १४ दिनदेखि उपचाररत नेपाली नागरिक कमल लामिछानेको उपचार खर्चस्वरूप लागेको करिब ६० हजार दिराम (नेपाली रु. २४ लाख) बराबरको सम्पूर्ण अस्पताल बिल अस्पताल प्रशासनले पूर्ण रूपमा मिनाहा गरेको छ।

यस मानवीय सहयोगपछि कमल लामिछानेलाई नेपाल एयरलाइन्स मार्फत हिजो शुक्रवार राति सुरक्षित रूपमा नेपाल पठाइएको छ। बिरामीको सहज यात्राका लागि उहाँकी धर्मपत्नीलाई समेत साथमा पठाउने व्यवस्था मिलाइएको बताइएको छ। उक्त सहयोग अभियानमा गैरआवासीय नेपाली सङ्घ (Non-Resident Nepali Association) अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्वका संयोजक रमेश श्रेष्ठ, उपाध्यक्ष मनोज कुमार श्रेष्ठ, सचिव भुवानी प्रसाद तिमिल्सिना, NRNA NCC UAE अध्यक्ष भिम मल्ल ठकुरी, साथै नेपाली जनसम्पर्क समिति यूएईका पदाधिकारीहरूको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ।

त्यसैगरी, Embassy of Nepal, Abu Dhabi, Consulate General of Nepal, Dubai तथा कन्सुलेट जनरल हरि ओडारीको समेत उल्लेखनीय सहयोग रहेको थियो। रु. २४ लाख बराबरको अस्पताल खर्च मिनाहा हुनु प्रवासी नेपाली समुदायका लागि ठूलो राहतको विषय बनेको छ। मानवीय सहकार्य र संस्थागत समन्वयको उत्कृष्ट उदाहरण बनेको यस घटनाले संकटमा परेका नेपालीलाई सहयोग गर्न सामूहिक प्रयास कति प्रभावकारी हुन्छ भन्ने सन्देश दिएको छ।

FB IMG 1776512240234

“मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने सन्देशलाई आत्मसात गर्दै एनआरएन एनसीसी यूएई परिवारले सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

कमेन्टहरु