दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

मध्यपूर्वको युद्ध तनावबीच विश्व शान्तिको कामनासहित नेफिन यूएईद्वारा २५७०औँ बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना

कबिराज राजबंशी
२०८३ बैशाख ५ | बिहान १०:०१ बजे
मध्यपूर्वको युद्ध तनावबीच विश्व शान्तिको कामनासहित नेफिन यूएईद्वारा बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना

प्रवास दुबई, यूएई| मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा चर्किँदै गएको युद्धको माहोल तथा विश्वव्यापी अस्थिरताका बीच नेपाल आदिवासी जनजाति महासंघ, यूएई (नेफिन यूएई) ले विश्व शान्तिको कामनासहित  २५७० औँ  बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

हाल विश्वका विभिन्न क्षेत्रमा देखिएको द्वन्द्व, हिंसा तथा युद्धका कारण मानव जीवनमा गम्भीर असर परिरहेको अवस्थामा विश्व शान्तिको कामना गर्दै पूजा–पाठ गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको नेफिन यूएईका अध्यक्ष भागीरथी कुमार भगतले जानकारी दिनुभयो। विशेषगरी मध्यपूर्वमा बढ्दो तनाव र युद्धको त्रासले आम जनमानसमा चिन्ता बढिरहेका बेला शान्ति, सद्भाव र सहअस्तित्वको सन्देश फैलाउन कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो।

उक्त विशेष पूजा, प्रवचन तथा सांस्कृतिक कार्यक्रम ३ मे २०२६ आइतबार, बरदुबईस्थित क्लब Sk7 मा आयोजना हुनेछ, जहाँ स्थानीय लामा गुरुहरूबाट विशेष पूजा–पाठ गरिनेछ। बुद्ध जयन्तीको अवसरमा गरिने यस धार्मिक अनुष्ठानमार्फत विश्वमा फैलिएको युद्ध, अशान्ति र द्वन्द्वको अन्त्य भई शान्ति स्थापना होस् भन्ने कामना गरिने आयोजकको भनाइ छ।

कार्यक्रम राजु मिलु गुरुङ को संयोजनमा सञ्चालन हुनेछ भने नेफिन यूएई र आवद्ध जातीय संस्थाहरूको सामूहिक आयोजनामा सम्पन्न हुने जनाइएको छ। कार्यक्रममा पूजा–पाठ, प्रवचन तथा विविध सांस्कृतिक प्रस्तुति पनि समावेश गरिनेछ।

अध्यक्ष भागीरथी कुमार भगतले यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई विश्व शान्तिको पक्षमा ऐक्यबद्धता जनाउन आग्रह गर्नुभएको छ। युद्ध र अशान्तिको वातावरणबीच आयोजना हुन लागेको यो कार्यक्रमले शान्ति, एकता र मानवताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

कमेन्टहरु