नमुना विद्यालय मलहनमा विद्यार्थी भर्ना गराउन अभिभावकको घुइचो “साझा प्रयासले उज्यालो बनाउँदै सिकाइ”


सप्तरी, नेपाल । श्री माध्यमिक विद्यालय मलहनमाको प्रांगण सोमबार उत्साह, सम्मान र आशाको ऊर्जा ले भरिएको थियो। स्थानीय तह, विकास साझेदार र समुदायको सहकार्यले विद्यालय शिक्षा कसरी रूपान्तरण हुन सक्छ भन्ने ज्वलन्त उदाहरणका रूपमा यो कार्यक्रम उभिएको देखिन्थ्यो।
सुरुङ्गा नगरपालिका–८ स्थित यस माध्यमिक विद्यालय मलहनमाले विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्दै “नमुना विद्यालय सिकाइ आदान–प्रदान” कार्यक्रम आयोजना गर्यो। कार्यक्रम केवल औपचारिक सम्मानमा सीमित रहेन; यसले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सहकार्यको शक्तिलाई उजागर गर्यो ।
यस उपलब्धिको पछाडि सेभ द चिल्ड्रेनको सहयोग, सुरुङ्गा नगरपालिकाको साझेदारी र सबल नेपालद्वारा सञ्चालित “समुन्नति कार्यक्रम”को महत्त्वपूर्ण भूमिका रहेको छ। यही सहकार्यले विद्यालयलाई सुरक्षित, सफा र हरित नमुना शिक्षालयका रूपमा रूपान्तरण गरेको छ—जहाँ सिकाइ वातावरण मात्र होइन, सोच र व्यवहार पनि परिवर्तन हुँदै गएको छ।
विद्यालयका प्रधानाध्यापक राम कुमार महराले विद्यालयको समग्र सिकाइ उपलब्धि सन्तोषजनक भए पनि अझ सुधारको आवश्यकता औंल्याए। “हामीले सिकेका अभ्यासहरूलाई दिगो रूपमा लागू गर्दै जानेछौँ,” उनले भने, “सिकाइलाई अझ बलियो बनाउन सबै पक्षको निरन्तर सहकार्य आवश्यक छ।”
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नगर प्रमुख गीता चौधरीले सामुदायिक विद्यालयको रूपान्तरणका लागि स्थानीय सरकार, विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताइन्। विगत १२ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको सबल नेपालप्रति धन्यवाद व्यक्त गर्दै उनले यस प्रयासले समुदायलाई सिकाइको साझा केन्द्रमा रूपान्तरण गरेकोमा गर्व व्यक्त गरिन्।
त्यसैगरी, उपप्रमुख रुद्रबहादुर कार्की, वडा नं. ८ का अध्यक्ष श्याम प्रसाद साह तथा नगर प्रवक्ता शिवदर्शन पासवानले शिक्षामा लगानी, दीर्घकालीन योजना र निरन्तर सुधारका पहलहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीले विद्यालयको प्रगति समुदायको साथ र सहकार्यकै परिणाम भएको उल्लेख गर्दै सिकाइ उपलब्धि सुधारमा सबै सरोकारवालाको सक्रियता अनिवार्य रहेको बताए।

कार्यक्रमका क्रममा शिक्षा सुधारमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई कदरपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो। कार्यक्रमको अवसरमा वडा नम्वर ८ को कार्यालय, सबल नेपाल र सेभ द चिल्ड्रेनलाई कदर पत्र सहित समान गरेका छन । साथै सबल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डल, फिल्ड संयोजक (शिक्षा) राधेश्याम राम, संयोजक अशोक कुमार मंडल, आशिष चौधरी चन्दन चौधरी लगायतका शिक्षा अभियन्ताहरू पनि रहेका थिए, जसले विद्यालयको सिकाइ वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन्।
स्थानीय समाजसेवी तथा शिक्षकहरूले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै सिकाइ सुधारका लागि समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको बताए। उनीहरूका अनुसार विद्यालय मात्र होइन, सम्पूर्ण समुदाय सिकाइ प्रक्रियाको अभिन्न हिस्सा बन्नुपर्छ।
कार्यक्रमको समापनसँगै विद्यालयले यस्ता पहलहरूले भविष्यमा अझ प्रभावकारी सिकाइ वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
यो कथा केवल एउटा विद्यालयको होइन—यो नेपालका सामुदायिक विद्यालयहरूमा सम्भावनाको कथा हो, जहाँ साझा प्रयासले सिकाइलाई मात्र होइन, भविष्यलाई पनि उज्यालो बनाउँदैछ।






















