विद्यार्थी संगठन नेपालले अनिवार्य नेपाली कागज र हस्तलिखित प्रयोग गर्ने


काठमाडौं – ०८३/ ०१ गते। विद्यार्थी संगठन नेपालले `अस्वीकार गर्ने अधिकार ´ का लागि संघर्ष गर्ने घाेषणा गरेको छ । आज बिहान उक्त संगठनकाे केन्द्रीय कार्यलयकाे बैठक बसि नयाँ बर्ष २०८३ काे अवसरमा सुभकामना दिदै साे घाेषणा गरेको हाे । संगठनले विज्ञप्ति जारी गर्दै संगठनका प्रत्येक प्रशासनिक कार्यहरु ईकाई कमिटी देखि केन्द्रीय समिति सम्म, विद्यालय देखि विश्वविद्यालय सम्मका समितिहरुमा अनिवार्य `नेपाली´ भाषा प्रयोग गर्ने अङ्ग्रेजी भाषाकाे प्रयाेग नगर्ने, संगठनका प्रत्येक कार्यात्मक निर्णयहरूकाे अभिलेखहरुमा `नेपाली कागज´ को प्रयोग गर्दै `हस्तलिखित´ गर्ने, संगठनकाे नाम `विद्यार्थी संगठन नेपाल´ राखि झण्डा र नारा परिवर्तित कुरालाई अनिवार्य लागु गर्ने, संगठनकाे मुखपत्र `विद्यार्थी गतिविधि´ प्रकाशन गर्ने, संगठनको विचार, उदेश्य, नारा, नाम र झण्डालाई `अपरिवर्तनीय´ बनाउने निर्णय समेत गरेको छ ।
उक्त कार्यलय बैठकले मौलिक एवम् शैक्षिक अधिकार सुनिश्चित गर्न ‘विद्यार्थी काउन्सिल’ खोल्ने व्यवस्थाको माग राख्दै विक्रम संवत् २०८२ साउन ५ गते नेपाल सरकार शिक्षा मन्त्रालयमा संगठनले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेखित ‘विद्यार्थी काउन्सिल’ को स्थापनाका लागि संगठनकै केन्द्रीय अध्यक्ष मुक्ति गैरेको नेतृत्वमा तीन सदस्य कार्यान्वयन दबाब तथा स्थापना संघर्ष समिति गठन गरेकाे छ भने सदस्यहरूमा मनु शर्मा र दिपा शाही रहनु भएको जानकारी दिएको छ। साथै समकालीन समयमा पनि प्रश्न उठाउदा, अभिव्यक्ति दिदा, खबरदारी गर्दा, जनचेतना जागृत गर्दा र अधिकार प्राप्तिका लागि संघर्ष गर्दा अन्याय, अत्याचार, शोषण, विभेद, छुवाछूत, हिंसा, निषेध, दमन, यातना, बन्धक र हत्या समेत हुने गरेकाे भन्दै यी यस्ता कार्यहरूलाई निराकरण गरि नागरिक प्रति जनउत्तरदायि बनाउन ‘अस्वीकार गर्ने अधिकार’ का लागि संघर्ष गर्ने निर्णय गरेकाेे छ । ‘अधिकार छात्रवृत्ति-२०८२’ को पुरस्कार घोषणा गर्दै यस अघि २०८२ पुस ५ गते दुई संगठन बिच एकता भई बनेको नाम `विद्यार्थी स्वयंसेवक नेपाल´ लाई अभिन्न अंगको रुपमा परिचालन गर्ने निर्णय गरेकाे छ । उक्त संगठनले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :
`प्रेस विज्ञप्ति
विक्रम संवत् २०८३ बैशाख १ गते मंगलबार संगठनको केन्द्रीय कार्यालय बैठक बसि निम्न निर्णय गरियो ।
१. देश र जनताको निमित्त प्रगतिशिल रुपान्तरण एवम् शैक्षिक अधिकारका लागि उच्च सहादत प्राप्त गर्नुहुने महान सहिदहरू प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। घाइते अपांगहरूलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। वेपत्ता योद्धाहरूलाई स्मरण गर्दै महान सहिद, वेपत्ता र घाइते अपांगका परिवारजनहरूलाई उच्च सम्मान प्रकट गर्दछौं।
२. आज विक्रम संवत् २०८३ बैशाख १ गते नयाँ बर्षको अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई ध्वस्त बनाउने दुष्टहरूलाई परास्त गर्दै देशको रक्षा गर्ने नयाँ बसन्तको शुरुआती संगै राष्ट्रिय एकतालाई पारिवारिक एकता र मिलन जस्तै प्रेमिल एकता कायम राखि पुरानो कटुता समाप्त गरेर, दुस्मनीहरू बिर्सेर एक-अर्कासित एकअद्वितीय सम्बन्ध स्थापित गरि देश र जनताको रक्षक बनी देशको विकास, समृद्धि र स्थायी शान्तिका लागि राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता जागृत गर्ने विस्वास सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं।
३. हाम्रा प्रत्येक कार्यहरूमा ‘नेपाली’ राष्ट्रिय भाषा प्रयोग गर्ने निर्णय गरेका छौं। समान विचारहरू रहेमा अन्तर्राष्ट्रिय सम्बन्ध, सम्पर्क र सहकार्य लागि मात्रै आवश्यकताको आधारमा कुटनितिक विभागहरूले मात्रै अन्य भाषा सम्बन्धित कामको लागि मात्रै प्रयोग गर्ने निर्णय गरेका छौं।
४. आजकै मितिबाट लागु हुने गरि केन्द्रीय समिति देखि इकाई समिति सम्मका हाम्रा प्रशासनिक कार्यहरूमा नेपाली कागजको अनिवार्य प्रयोग गर्दै हस्तलिखित कार्यसम्पादन गर्ने निर्णय गरेका छौं साथै नेपाली कागजको प्रयोग र हस्तलिखित कार्यका लागि संघर्ष गर्ने समेत निर्णय गरेका छौं।
५. हामीले अन्याय, अत्याचार, शोषण, विभेद, छुवाछूत, निषेध, दमन र दासताका विरुद्ध थुप्रैपटक विद्रोह गर्दै आयौँ। ती हाम्रा विद्रोहहरू स्वाभिमानी, स्वतन्त्रता, आत्मसम्मान र समान अधिकारका लागि थिए र सधैव रहनेछ। विद्रोह-संघर्षकै क्रममा हामीले २०७७ भदौ २५ गते आफ्नै झण्डा निर्माण गरेका थियौं ‘झण्डा कलमको चुच्चोमा अवस्थित पाँच कने तारा सहितको कलमलाई एक हात मुठ्ठीले समाएको हुनेछ’ । विक्रम संवत् २०८२ पुस ५ गते हाम्रा दुई संगठनहरू बिच एकता गरि नयाँ नारा निर्माण गरेका थियौं ‘सम्पूर्ण प्रगतिशील तथा देशभक्त विद्यार्थी एक जुट होऔं’। विक्रम संवत् २०८३ बैशाख १ गते आज संगठनको स्थायी नाम ‘विद्यार्थी संगठन नेपाल’ निर्माण गर्ने निर्णय गरेका छौं। यि त्रिकोणात्मक विद्रोह-संघर्षहरूबाट स्थापित ऐतिहासिक दिनहरूलाई एकमुष्ट समायोजन गर्दै आजकै मितिबाट यसै संगठनको नाम, झण्डा र नारा सहित नयाँ नामको लेटरहेडमा विज्ञप्ति सार्वजनिक गर्दैछौं ।
६. संगठनको प्रकाशन ‘विद्यार्थी गतिविधि’ प्रकाशन गर्ने निर्णय गरेका छौं जसको पहिलो अंक आजै सार्वजनिक गर्ने घोषणा गर्दछौं ।
७. हाम्रो विगतको अनुभवले केही बुँदाहरूमा समान विचार भएकै भरमा एकता र सहकार्य गर्दा अन्ततः विभाजन, फुट, निराशा, भ्रम र अन्योल मात्रै सिर्जना गरिरह्यो। जसका कारण त्याग, समर्पण र बलिदानी विचारहरू माथि प्रश्नहरू मात्रै उब्जाउने घृणित रङ्गमंचको सिकार बाहेक अरु उपलब्धि हासिल हुन सकिरहेको छैन् अन्ततः बदनाम हुने स्थितिमा पुगिरहेको छ । तसर्थ हाम्रो विगतको गौरवशालि ईतिहासलाई उच्च सम्मानका साथ दृढ प्रतिज्ञा गर्दै संगठनको विचार, उदेश्य, नारा, नाम र झण्डालाई अपरिवर्तनीय बनाउने निर्णय गरेका छौं।
८. मौलिक एवम् शैक्षिक अधिकार सुनिश्चित गर्न ‘विद्यार्थी काउन्सिल’ खोल्ने व्यवस्थाको माग राख्दै विक्रम संवत् २०८२ साउन ५ गते नेपाल सरकार शिक्षा मन्त्रालयमा संगठनले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेखित ‘विद्यार्थी काउन्सिल’ को स्थापनाका लागि संगठनकै केन्द्रीय अध्यक्ष मुक्ति गैरेको नेतृत्वमा तीन सदस्य कार्यान्वयन दबाब तथा स्थापना संघर्ष समिति गठन गरिएको छ सदस्यहरू मनु शर्मा र दिपा शाही रहनु भएको छ।
९. विचार अभिव्यक्तिको स्वतन्त्रता जनताको स्वतन्त्रता हो। जनताले व्यक्त गरेका कुराहरूलाई स्वतन्त्रता पुर्वक निर्धक्क रुपमा व्यक्त गर्न पाउनुपर्छ। जनता प्रति जनउत्तरदायित्व बोध गरेका जिम्मेवारी व्यक्ति वा निकायहरूले अन्याय, अत्याचार, शोषण, विभेद, छुवाछूत, हिंसा, निषेध, दमन, यातना, बन्धक र हत्या गर्नु हुदैन्। यदि ती त्यस्ता क्रियाकलापहरूका विरुद्ध जनताले अभिव्यक्ति दिन पाउने स्वतन्त्रता सुनिश्चित गर्नु जनउत्तरदायित्व बोकेका व्यक्ति र निकायहरूको जिम्मेवारी हो। यदि त्यसो नभएमा स्वाभिमानी, स्वतन्त्रता, आत्मसम्मान र समान अधिकारका लागि प्रश्न गर्नु, खबरदारी गर्नु, जनचेतना जागृत गर्नु र अधिकार प्राप्तिका लागि संघर्ष गर्नु सचेत जनताको कर्तव्य हो। समकालीन समयमा पनि प्रश्न उठाउदा, अभिव्यक्ति दिदा, खबरदारी गर्दा, जनचेतना जागृत गर्दा र अधिकार प्राप्तिका लागि संघर्ष गर्दा अन्याय, अत्याचार, शोषण, विभेद, छुवाछूत, हिंसा, निषेध, दमन, यातना, बन्धक र हत्या समेत हुने गरेका छन् । यी यस्ता कार्यहरूलाई निराकरण गरि नागरिक प्रति जनउत्तरदायि बनाउन ‘अस्वीकार गर्ने अधिकार’ का लागि संघर्ष गर्ने निर्णय गरेका छौं ।
१०. यस संगठनका अध्यक्ष मुक्ति गैरेले २०८२ कार्तिक १२ गते घोषणा गर्नु भएको ‘अधिकार छात्रवृत्ति-२०८२’ को पुरस्कार घोषणालाई संगठनले पुर्ण रुपमा साथ दिने निर्णय समेत गर्यो ।
११. विद्यार्थी स्वयंसेवक नेपाललाई आजकै मितिबाट बिद्यार्थी संगठन नेपालको अभिन्न अंगको रुपमा ‘विद्यार्थी स्वयंसेवक नेपाल’ परिचालन गर्ने निर्णय गरियो ।
मिति २०८३ बैशाख १ गते
नेपाल सम्वत् ११४६ चौलागाःद्वादशी
मुक्ति गैरे
अध्यक्ष´
























