जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै


काठमाडौँ, चैत ९। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताउनुभएको छ ।
विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा सचिव चटौतले जलवायु परिवर्तनका असरसँग जुध्न जल तथा मौसमजन्य घटनाका पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो । उहाँले वैज्ञानिक तथ्याङ्कलाई प्रभावकारी रूपमा पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य घटनाबाट नागरिकको ज्यान जोगाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
जल तथा मौसम सेवाहरूलाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको सचिव चटौतले औँल्याउनुभयो । साथै, सरकार, प्राविधिक निकाय र सरोकारवालाबीच समन्वय बलियो बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढीकरण, प्रविधिको प्रयोग विस्तार तथा संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु धर प्रधानाङ्ग र वरिष्ठ जलविद् राम विकेशले संयुक्त रूपमा कार्यपत्र प्रस्तुत गर्दै अवलोकनदेखि सेवासम्मको मौसम प्रणालीको विकासक्रम, प्रविधिको प्रयोग तथा भविष्यका योजनाबारे जानकारी गराउनुभयो । उहाँहरुले पछिल्लो समय मौसमजन्य पूर्वसूचनाको अवलोकनदेखि सेवासम्म मौसम पूर्वानुमान प्रणाली सुदृढ हुँदै गएको बताउनुभयो । अवलोकन, विश्लेषण, पूर्वानुमान र सेवामार्फत विपद् न्यूनीकरणमा प्रभावकारी योगदान पु¥याइरहेको उहाँहरुको भनाइ छ ।
विश्व मौसम दिवस २०२६ को सन्दर्भमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रमा मौसमसम्बन्धी सही अवलोकन बिना प्रभावकारी पूर्वानुमान सम्भव नहुने उल्लेख छ । वरिष्ठ मौसमविद् प्रधानाङ्गले मौसमले उड्डययन, कृषि, स्वास्थ्य, दैनिक जनजीवन तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विश्वसनीय तथ्याङ्क सङ्कलन आवश्यक रहेको औँल्याउनुभयो । उहाँका अनुसार देशभरका स्वचालित र ‘म्यानुअल’ मौसम स्टेसन, राडार, उपग्रह तथा रेडियोसन्डे प्रणालीमार्फत वास्तविक समयमै तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । सङ्कलित तथ्याङ्कलाई गुणस्तर परीक्षण तथा विश्लेषण गरी पूर्वानुमान तयार पारिने गरिएको छ ।
सङ्ख्यात्मक मौसम पूर्वानुमान (एनडब्ल्युपी) प्रणालीमार्फत विभिन्न सरकारी निकाय तथा सरोकारवालालाई डेटा उपलब्ध गराउँदै आएको प्रधानाङ्गको भनाइ छ । “यसले यातायात, कृषि, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा निर्णय लिन सहयोग पु¥याइरहेको छ,” उहाँले भन्नुभयो ।
हाल १२ घण्टा, २४ घण्टा, तीन दिन तथा साप्ताहिक पूर्वानुमान सेवा सञ्चालनमा रहेको छ । यस्तै, उड्डययन क्षेत्रका लागि विशेष मौसम सेवा, पर्वतारोहण पूर्वानुमान, कृषि मौसम सेवा तथा विशेष चेतावनी प्रणालीसमेत सञ्चालनमा छन् । विभागका अनुसार पछिल्ला वर्षमा प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढाइएको र स्वचालित मौसम स्टेसन, उन्नत उपग्रह, राडार प्रणाली तथा उच्च क्षमतायुक्त कम्प्युटर प्रणालीमार्फत पूर्वानुमानको शुद्धता सुधार गरिएको छ ।
सन् २०२१ देखि सुरु गरिएको प्रभावमा आधारित पूर्वानुमान प्रणालीले विशेषगरी मनसुनको समयमा जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाएको विभागले जनाएको छ । भविष्यमा पाँचदेखि सात दिनसम्मको पूर्वानुमान सेवा, निर्णय सहयोग प्रणाली, कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषण तथा मोबाइल एपमार्फत सेवा विस्तार गर्ने योजना रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ ।
जलविद् रायले बाढीसम्बन्धी पूर्वसूचनाका कारण सम्भावित जोखिम न्यूनीकरण भएको र धनजनको क्षतिसमेत कम भएको भन्दै पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।























