दुर्घटना

पाल्पा रहबासस्थित टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

नवलपुर टुडे
२०८२ चैत्र ८ | बिहान ०७:१२ बजे

काठमाडौँ । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शनिबार बेलुकी भएको दुर्घटनामा घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर साँझ करिब ६ बजे दुर्घटनामा परेको हो।

माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा भएको दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार दुर्घटनामा परी चालक अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देही देवदह नगरपालिका–२ खैरेनीका अन्दाजी २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० पटुवा निवासी ३३ वर्षीय राजन चिदीको मृत्यु भएको हो।

तीन जनाको घटनास्थलमै मृत्यु भएको र चिदीको उपचारका क्रममा भैरहवा मेडिकल कलेज, रूपन्देहीमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि टिपर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ।

कमेन्टहरु