देश

नवलपरासी पूर्वमा जापनिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

रासस
२०८२ चैत्र ७ | बिहान ०८:१२ बजे

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफलाइटिस (जेई)विरुद्ध सञ्चालन गरिएको विशेष खोप अभियान उल्लेखनीय प्रगति गर्दै लक्ष्य नजिक पुगेको छ ।

जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा अधिकांश लक्षित नागरिकले खोप सेवा लिइसकेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँका अनुसार चैत ६ गतेसम्म लक्षित जनसङ्ख्याको ६९ दशमलव एक प्रतिशतले खोप सेवा लिइसकेका छन् । अभियानअन्तर्गत हालसम्म एक लाख तीन हजार ७५२ जनाले खोप लगाएका छन् । जसमध्ये ४२ हजार ८४१ पुरुष र ६० हजार ९११ महिला रहेका छन् ।

“छोटो अवधिमा नै उल्लेखनीय उपलब्धि हासिल भएको छ,” उनले भने, “अभियान लक्ष्यअनुसार सफलतापूर्वक अघि बढिरहेको छ ।” जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा निरन्तर सञ्चालन भइरहेको छ । “विशेषगरी बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा खोपको प्रगति अत्यन्त राम्रो देखिएको छ”, उनले भने, “बौदिकालीमा ९५ दशमलव एक प्रतिशत र बुलिङटारमा ८७ प्रतिशत प्रगति भएको छ ।”

जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षहरूमा बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि खोप अभियान सञ्चालन गरिएको हो । अभियानमार्फत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

कमेन्टहरु