नेपाल रेडक्रसद्वारा एक महिने सदस्यता वितरण अभियान सुरू


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले एक महिने सदस्यता वितरण अभियान सुरुआत गरेको छ । सोसाइटीले सूचना जारी गर्दै गत फागुन २५ गतेदेखि थालनी भएको सदस्यता वितरण अभियान यही चैत्र २४ गतेसम्म जारी रहने छ ।
सूचनामा रेडक्रस अभियानका सिद्धान्त, मूल्य मान्यता, र आदर्शलाई आत्मसात् गर्दै विधानमा उल्लेखित प्रक्रिया र तोकिएको शुल्क बुझाई सदस्यता लिन इच्छुक व्यक्तिहरूले आफूलाई पायकपर्ने पालिका तहमा पालिका शाखा, जिल्ला तहमा जिल्ला शाखाका अतिरिक्त प्रदेश तहमा प्रदेश कार्यालय र केन्द्रीय तहमा केन्द्रीय कार्यालयबाट समेत सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ ।
सूचनामा भनिएको छ, “सम्पर्कका लागि नेपाल रेडक्रस सोसाइटीका पालिका तहका उपशाखाका सभापति वा सचिवहरू, ७७ वटै जिल्ला शाखाका सभापति वा मन्त्रीहरू, सात वटै प्रदेश कार्यालयका अध्यक्ष वा महासचिवहरू र केन्द्रीय कार्यालयमा महामन्त्रीसँग सम्पर्क गर्न सकिनेछ । थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटीको वेभसाइट www.nrcs.org हेर्नुहुन वा निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिन छ ।”























