Opens in a new tab

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सबस्टेसन

रासस

29Shares
dida bag ad

बागलुङ, फाल्गुन ६। एक सय ३२ केभी बुर्तिबाङ सबस्टेसन सञ्चालनमा आएको छ। यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सबस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो।

एक वर्षअघि सञ्चालनमा आउने भनिएको उक्त सबस्टेसन अन्तर्गत बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले टावर निर्माण र लाइन तान्न अवरोध गरेपछि ढिलाइ भएको हो। कपिलवस्तुको मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन निर्माण विसं २०७८ चैत १२ गते सुरु भएकामा अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालन गर्ने योजना थियो।

ठाउँठाउँमा काम गर्दा अवरोध आएपछि समयमा सञ्चालनमा ल्याउन नसकेको आयोजना प्रमुख मनोज चौधरीले बताए। करिब डेढ वर्ष बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको उनको भनाइ छ। गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरिदिएपछि तीव्र गतिमा काम गरेर सम्पन्न गरेको उनले बताए।

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरबाट आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेसन विसं २०७८ देखि निर्माण सुरु भएको थियो। ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सबस्टेसन निर्माण गरेर सञ्चालन गरिएको आयोजना प्रमुख चौधरीले जानकारी दिए।

उनले भने, ‘हामीले अघिल्लो वर्ष सञ्चालनमा ल्याउने गरी काम गरेका थियौँ तर, विभिन्न समस्याले गर्दा काम सम्पन्न हुन सकेको थिएन। फागुन २ गते काम सकिएलगत्तै परीक्षण गरेका थियौँ, अहिले नियमित रूपमा प्रसारणलाइन सञ्चालनमा आएको छ।’

कपिलवस्तुबाट बुर्तिबाङसम्म ८६ किलोमिटर दूरी रहेको छ। यहाँ ‘डबल सर्किट’ को तार विस्तार गरिएको प्रमुख चौधरीले बताए। उनका अनुसार चार अर्ब ७९ करोड लागतमा उक्त आयोजना सञ्चालनमा आएको हो।

अरुपनि पढ्नुहोस

सबै