ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

रासस


सिन्धुली, पुस १६। ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।
उहाँका अनुसार नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि कुहिरो र प्राकृतिक दृश्यको रमणीय संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । गर्मी र जाडो दुवै मौसममा तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू यहाँको मौसम, शीतल हावा र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन् ।
हाल जुनार तथा सुन्तलाको मौसम रहेकाले सिन्धुलीगढी आउने भारतीय तथा आन्तरिक पर्यटकहरूले स्थानीय उत्पादनलाई उपहारका रूपमा लैजाने गरेका स्थानीय व्यापारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुलीका जुनार, सुन्तला तथा स्थानीय तरकारीले यहाँको आर्थिक गतिविधिमासमेत सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।
नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा सङ्घीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाको करिब रु आठ करोडको सहयोगमा युद्ध सङ्ग्रहालय निर्माण भएपछि पर्यटकको चाप बढेको हो । सङ्ग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा युद्धसम्बन्धी वृत्तचित्र प्रदर्शनीमा राखिएका छन् ।
विशेषगरी अङ्ग्रेजी तथा नेपाली नयाँ वर्ष, शनिबार र अन्य सार्वजनिक बिदामा सिन्धुलीगढीमा एक हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका व्यापारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक वर्षमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलङ्का, पाकिस्तान र भारतलगायत देशका विदेशी पर्यटकसमेत सिन्धुलीगढी पुग्न थालेका छन् ।
कमलामाई नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकहरूले युद्ध सङ्ग्रहालय, रानी दरबार, ठुँडो दरबार, गणेश हिमाल, तराईका फाँट तथा महाभारत क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटीको अवलोकन गर्न सक्छन् ।
सिन्धुलीगढीको ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र पूर्वाधार विकासले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थालेको स्थानीयवासीको भनाइ छ ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















