तमु ल्होसार महोत्सवः पुस्तैनी ठेकीले सम्झायो पुर्खा

रासस


काठमाडौँ, पुस १५। ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए । ठेकी परम्परागत थियो । निकै पुरानो रहेछ ?सोध्नेहरुलाई उहाँ भन्नुहुन्थ्यो, “अनि यो ठेकी आजको हो त ? तीनपुस्ते पुरानो नि ।”उमेरले ६३ पुग्नुभएकी देवकुमारीले आज टुँडीखेलमा भएको तमु ल्होसार महोत्सवमा परम्परागत संस्कृति प्रदर्शन गर्न घरबाटै पुख्र्यौली ठेकी लिएर आउनुभएको थियो । उहाँले उक्त ठेकीमा आफ्नो मौलिकपनसँगै पुर्खाका भावनासमेत जोडिएको सुनाउनभुयो । गोर्खाबाट ललितपुर बसाइँसराइ गर्दासमेत उहाँले पुख्र्यौली भाँडाकुँडासँगै राख्नुभएको बताउनुभयो ।
भक्तपुर घर भएकी सोरठी गुरुङले आफूले लगाएका पुख्र्यौली गहनाको बेलीविस्तार सुनाउनुभयो । मखमली चोली, छिट्को गुन्यो र नीलो पटुकीमा चिटिक्क परेकी सोरठीले पुर्खाले दिएको मुगामाला (पिरुमाला), शिरमा शिरफुल, शिरबन्दी र हबेल माला अति मायाले सम्हालेको बताउनुभयो । उहाँका अनुसार ती गहना आमाले बिहेका बेला माइतीका तर्फबाट उपहार दिनुभएको थियो ।
“यो गहना जति पुरानो हुन्छ, उति नै महत्वपूर्ण लाग्छ”, उहाँले भन्नुभयो, “जति दुःख परे पनि पुख्र्यौली गहना बेच्दिन भनेर जोगाएर राखेकी छु ।”सोरठीका दुई छोरी छन् । आफूले यी गहनाहरु छोरीलाई उपहार दिने सोच राखेको उहाँले बताउनुभयो । हजुरआमादेखि आमा र आमादेखि छोरीसम्म परम्परागत गहना हस्तान्तरण हुँदै आएको उहाँले बताउनुभयो ।
महोत्सवमा गुरुङ समुदायका पुरुष पनि उत्तिकै परम्परागत शैलीमा देखिनुभयो । महोत्सवमा संयुक्त परिवारसँगै टुँडिखेल आउनुभएका ७० वर्षीय धर्ने गुरुङले ७ वर्षको नातिलाई परम्परागत पोसाक कछाड लगाउने तरिका सिकाउँदै हुनुहन्थ्यो । उहाँले युवा पुस्तालाई समेत साथमा लिएर संस्कार र संस्कृति बुझाउँदै हुनुहुन्थ्यो ।
“कछाड लगाउन नातिले जान्दैन, सिकाउनु त पर्यो”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृति र परम्परा नाति पुस्ताले सिकून् भन्ने रहर लाग्दोरहेछ ।”धर्नेले जस्तै, महोत्सवमा कला, संस्कृति र वेशभूषादेखि गुरुङ समुदायको जीवनशैलीसमेत प्रदर्शन गरिएको थियो । खासगरी, गुरुङ समुदायले खाने परम्परागत परिकारका कक्ष धेरै थिए । सेलरोटी, बङ्गुरको मासु, अचारलगायत परिकार पकाएर उनीहरुले दर्शकको मन तानेका छन् । रक्सी बनाउने परम्परागत कलासमेत प्रदर्शनीमा देखाइएको थियो ।
महोत्सवका संयोजक राजु गुरुङले गुरुङ समुदायको मौलिक संस्कृतिलाई सामूहिक रुपमा मनाउने र अरू समुदायलाई समेत उत्सवमा आकर्षित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















