ट्रयाक खुलेको १८ वर्षपछि बेनीको वैकल्पिक सडक स्तरोन्नति हुँदै

रासस


म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको यो सडकलाई फराकिलो पार्ने, नाली र पर्खाल निर्माण गर्ने तथा कालोपत्र र ढलान गर्ने प्रक्रिया अघि बढाएको हो ।
१ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको यस योजनाका लागि १ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको शङ्कर निर्माण सेवाले अहिले कार्यक्षेत्रमा डोजर परिचालन गरी काम थालेको छ । आगामी जेठ १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यो योजनाअन्तर्गत टुनीखर्क खण्डमा ३५० मिटर प्रिमिक्स कालोपत्र र ४०० मिटर ढलान गरिने बेनी नगरपालिकाका सिनियर सबइन्जिनियर कमल थापाले जानकारी दिए ।
योजनाअन्तर्गत सडकको चौडाइ ६ मिटर पुर्याइनेछ भने पक्की नाला र पर्खाल समेत निर्माण हुनेछ । आर्थिक वर्ष २०६४/६५ मा ट्रयाक खोलिएको यो सडकले बेनी नगरपालिकाका वडा नम्बर ७, ६, ५ र ४ लाई जोड्नुका साथै पश्चिम म्याग्दीका तीनवटा स्थानीय तह पुग्ने सवारीसाधनका लागि सहज विकल्प दिनेछ ।
बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाका अनुसार यो सडकलाई नगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिएको छ । विगत चार वर्षदेखि विभिन्न खण्डमा स्तरोन्नति हुँदै आएको यस मार्गको कतिपय खण्डमा कालोपत्र भइसकेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षमा छाप क्षेत्रमा भएको कालोपत्र गुणस्तरीय नभएपछि निर्माण व्यवसायीको धरौटी रोक्का गरेर मापदण्ड अनुसार काम गराउन पहल भइरहेको वडा अध्यक्ष बानियाले बताए ।

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
अरुपनि पढ्नुहोस
सबै
मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता
















