Opens in a new tab

सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छः पूर्व प्रधानमन्त्री नेपाल

रासस

29Shares
dida bag ad

सिन्धुली, मंसिर २९।  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताउनुभएको छ । आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबीच गहन वार्ता हुन नसकेको बताउनुभयो ।

नेता नेपालले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था रहेको छ ।” आफूहरू चुनावको तयारीमा जुटिरहेको र यद्यपी सरकार र राजनीतिक दलहरूबीचको संवाद पर्याप्त नभएको उहाँको टिप्पणी थियो ।
जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिए पनि पछिल्ला राजनीतिक दलहरूको कार्यक्रमले त्यो भाष्यलाई पुष्टि नगरेको उहाँको भनाइ छ । नेपाली जनता सधैँ राजनीतिक आस्थामा रहेको भन्दै उहाँले निर्वाचन गर्नका निम्ति सरकारले दलहरूसँग संवाद गर्न जरुरी रहेको बताउनुभयो । वर्तमान अवस्थामा चुनावमा नै देश जाला त रु भन्ने प्रश्न खडा भएको छ उहाँले भन्नुभयो ।