सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

रासस


काठमाडौँ, मंसिर २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।
अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताउनुभएको थियो । उहाँले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि उल्लेख गर्नुभयो ।
“मैले उहाँहरुलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिए, उहाँहरुले नयाँ प्याकेज ल्याउँछौँ भन्नुभएको छ, त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरुले आफ्नो योजना सुनाउनुभएको छ”, मन्त्री खरेलले भन्नुभयो । उहाँले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुनसक्ने सहयोगका लागि तयार रहेको समेत बताउनुभएको थियो ।
एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० जना विद्यार्थीलाई रु एक करोड राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ । एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथमा क्षेत्रको गोखरसेपसम्म थप पाँचवटा टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो ।
मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका केही समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताउनुभएको थियो । “केही नीतिगत समस्या छन्, केही विवादहरु पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ”, उहाँले भन्नुभयो ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तरराष्ट्रिय स्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । “टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च

तिहार बिदामा निगमको डिपो खुला रहने
















