बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

नवलपुर टुडे


म्याग्दी । यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ ।
“गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले घरबास सुरु गरेका हौँ”, उनले भनिन्, “पर्यटकको चाप बढेपछि थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ ।”
तोरीपानी मसलेदार फल टिमुरको पकेट क्षेत्र हो । टिमुरको चटनी सयपत्री होमस्टेको विशेष परिकार हो । फर्कँदा पाहुनालाई टिमुर, भटमास र भागो कोसेली दिने गरिएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताइन् । रु एक हजार ५०० खर्चमा एक रात बास बस्न सकिन्छ ।
होमस्टे सञ्चालनका लागि इको हिमालय संस्थाले तालिम र पूर्वाधार निर्माणमा सहयोग गरेको छ । संस्थाका निर्देशक नारायण ढकालले प्रतिघर रु ७० हजारबराबरको सामग्री र समूहलाई रु दुई लाख सहयोग गरेको जानकारी दिनुभयो । इको हिमालयले तोरीपानीमा टिमुरखेती विस्तार, गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्दै आएको छ ।
समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी हिमशृङ्खला देखिन्छ । सूर्योदय र सूर्यास्तको समयमा हिमालको मनमोहक दृश्य देखिन्छ । बेनी बजारदेखि नौ किलोमिटर उत्तरतर्फ रहेको तोरीपानीमा बेनीदेखि करिब ३० मिनेट सवारीसाधनमा यात्रा गरेपछि पुगिन्छ । बेनीदेखि अर्थुङ्गे, जामुनाखर्क हुँदै किराखोरसम्म पाँच किलोमिटर सडक पक्की छ । किराखोरदेखि नेप्टेचौर जोड्ने करिब दुई किलोमिटर सडक कालोपत्र भइरहेको छ । नेप्टेचौरदेखि तोरीपानी जोड्ने थप दुई किलोमिटर सडक ग्राभेल गर्न पूर्वाधार निर्माणाधीन अवस्थामा छ ।
तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल पछै छन् । ढोलथानामा बाइसेचौबिसे राज्यका पालामा बर्खायामको राजधानी थियो । दरबारका भग्नावशेष अझै देख्न सकिन्छ । तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ । फेदीमा मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित गलेश्वर शिवालय मन्दिर छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















