चितवनका जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

रासस
२०८२ मंसिर १५ | मध्यान्ह ०१:०८ बजे

चितवन, मङ्सिर १५ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् ।जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताउनुभयो ।
स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरुले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । “स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ”, उहाँले भन्नुभयो । घाइतेहरुको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । घाइतेलाई राहत स्वरुप सरकारले रु २० हजार दिने निर्णय गरेको थियो ।

















