एनपीएल : साविक विजेताको पतन, उपविजेताको ‘विजय’ यात्रा जारी

नवलपुर टुडे


काठमाडौं । पाँच खेलमा पाँच जित निकालेको सुदूरपश्चिम रोयल्सले शनिबार जनकपुर बोल्ट्सलाई हराउन ठूलो संघर्ष गर्नु परेन । नेपाल प्रिमियर लिग (एनपीएल) को एक मात्र अपराजित टिमसमेत रहेको सुदूरपश्चिम योसँगै प्लेअफ पुग्ने पहिलो टिमसमेत बन्यो । गत सिजन पनि यस्तै प्रदर्शनसहित शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले उपाधि जित्न भने सकेन । फाइनलमा जनकपुर नै बाधक बन्दा उपाधिमा चुकेको सुदूरपश्चिम दोस्रो संस्करणमा त्यो भोकलाई मेटाउन व्यग्र देखिन्छ । पाँच खेलसम्म सुदूरपश्चिमले कमजोरी निकाल्ने कुनै ठाउँ छोडेको छैन ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला सिजनकै सबैभन्दा धेरै समर्थकले भरिँदा जनकपुर टस जितेर ब्याटिङमा ओर्लियो । तर, कप्तान वायन पार्नेलको यो निर्णयलाई जनकपुरका दुई ब्याटर सञ्जय कृष्णमुर्थी (५० रन) र लोफ्टी इटोन (३९ रन) बाहेक अरुले न्याय गर्न सकेनन् । पहिलो इनिङमा निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि जनकपुर आठ विकेट गुमाएर १४५ रनसम्म पुग्न सक्यो । सुदूरपश्चिमको रणनीति नै जनकपुरलाई १४० देखि ५० बीचमा रोक्ने थियो । भयो त्यस्तै ।
टी–२० क्रिकेटको यो मध्यम लक्ष्य पूरा गर्न सुदूरपश्चिमले कुनै संघर्ष गर्नुपरेन । १७.४ ओभरमा चार विकेट गुमाउँदा सुदूर लक्ष्यसम्म पुगिसकेको थियो । “हाम्रो लक्ष्य नै जनकपुरलाई १४०–५० को बीचमा रोक्ने भन्ने थियो । यसो हुँदा हामीलाई सहज हुन्छ भन्ने थियो,” जितपछि सुदूरपश्चिमका फास्ट बलर अविनाश बोहराले भने ।
अविनाश, जसले जनकपुरका चार चर्चित ब्याटर, लोफ्टी इटोन, सञ्जय कृष्णमुर्थी, शुभ कंशाकार र कप्तान पार्नेललाई पभेलियनको दिशा देखाए । जनकपुरलाई मध्यम योगफलमा रोक्न स्कट कुग्गेलिनले तीन विकेट लिँदै अविनाशलाई साथ दिए । एक विकेट कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो ।
कमजोर ब्याटिङमा धुमिल बनेको साविक विजेता
चार खेल खेल्दा सबैमा हार बेहोरेको जनकपुरको प्लेअफ समीकरण लगभग समाप्तको स्थितिमा छ । तालिकामा अंकविहीन जनकपुरको गणितीय आधार मात्रै बाँकी रहे पनि सम्भावना निक्कै न्यून देखिन्छ । यी चारै खेलमा जनकपुरले ब्याटिङमा निक्कै संघर्ष गर्यो । शीर्ष क्रममा ब्याटर जिम्मेवारी वहनमा चुक्दा टोलीले हालसम्म १४५ भन्दा माथिको स्कोर छुनै सकेको छैन । शनिबार सुदूरपश्चिमविरुद्धको १४५ रन नै एनपीएलको दोस्रो संस्करणमा साविक विजेताले बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघिका तीन खेलमा झन् जनकपुरले १३० रनको स्कोरसमेत पार गर्न नसकेको तथ्यांक छ ।
आजको खेलअघि जनकपुरले आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध १३० रन, विराटनगर किंग्सविरुद्ध १२६ रन र पोखरा भएभेन्जर्सविरुद्ध पनि १३० रनमात्रै बनाएको थियो । ब्याटिङमै ‘फ्लप’ बनेपछि जनकपुरले आज नियमित कप्तान अनिलकुमार साहलाई नै बेन्चमा राखेका थियो । उनको स्थानमा पार्नेलले कप्तानी गर्दा आदीत्य महता प्लेइंग–११ मा अटाएका थिए ।
सुदूरपश्चिमविरुद्ध पनि जनकपुरका शीर्ष तीन ब्याटरले १८ रनमात्र थप्न सके । ओपनर माज सदाकतले १२ र तेस्रो क्रमका ब्याटर मयन यादवले ६ रन थप्दा अर्का ओपनर आसिफ सेख भने शून्यमा पभेलियन फर्किए । आसिफ यसअघि पोखरा एभेन्जर्सविरुद्ध पनि ‘गोल्डेन डक’ भएका थिए । यसअघि पोखराविरुद्ध चार रन बनाएर आउट भएका मध्यक्रम ब्याटर शुभ कंशारकार सुदूरविरुद्ध ‘गोल्डेन डक’ भए ।
“हामीले बनाएको योजनाअनुसार खेलाडीले खेल्न सकिरहेका छैनन् । ब्याटिङमा हामी चुकिरहेका छौँ,” लगातार चार हारपछि जनकपुरका ब्याटिङ प्रशिक्षक अनिल मण्डलको गुनासो पनि यसैमा छ ।
‘अजेय’ उपविजेताको
दोस्रो संस्करणमा ‘अजेय’ बनेको सुदूरपश्चिम लगातार पाँच जितसँगै १० अंकसहित शीर्ष स्थानमा छ । प्लेअफ पुग्ने पहिलो टिम बने पनि सुदूरपश्चिमको स्थान भने अबका दुई खेलपछि मात्रै निश्चित हुनेछ । प्रतियोगिताको समूह चरणमा अब सुदूरपश्चिमले चितवन राइनोज र विराटनगर किंग्सविरुद्ध मात्रै खेल्न बाँकी छ ।
यस सिजन सुदूरपश्चिमले यसअघिका चार खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रन, पोखरा एभेन्जर्सविरुद्ध १८ रन, कर्णली याक्सविरुद्ध ४५ र लुम्बिनी लायन्सविरुद्ध सात विकेटको सहज जित निकालेको थियो । “टिम भावना एकदम राम्रो छ । एउटा पनि खेल हारेका छैनौँ । गौरवान्वित महसुस गरिरहेका छौँ । हाम्रो टिममा नेपाली खेलाडीहरूले नै राम्रो गरिरहेका छन्,” प्लेअफ पुगेपछि अभिनाशले थपे ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















