जेन्जी आन्दोलनका सहिद ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी


दोलखा, मङ्सिर १२ । दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ । स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाउँदै आउनुभएका महेश बुढाथोकीको जेन्जी आन्दोलनमा निधन भएपछि पुत्रशोकले दिलकुमारीका आँखा ओभानो छैनन् भने अब उहाँको उपचार खर्च जुटाउने आधार पनि समाप्त भएको छ । छोरा बितेपछि आमा दिलकुमारी हरेक रात र दिन रोएर बित्ने गरेको छ । उहाँ भन्नुहुन्छ, “छोरा कतिबेला आमा भन्दै छोरा आउँछ झैँ लाग्छ, बितेको विश्वास लाग्दैन ।”
हाल केशव काठमाडौँको सुकेधारास्थित एक ग्यास डिपोमा ग्यास झार्ने र चढाउने काम गर्नुहुन्छ । उहाँको महिनाको रु १५ हजार तलबले न काठमाडौँको ठाउँमा परिवार पााल्न पुग्छ न छोराछोरी पढाउन नै । उहाँ भन्नुहुन्छ, “घरको मियो भाँचियो, अब कसको साहाराले बाँच्ने रु श्रीमती पनि बिरामी छिन्, उनको उपचार खर्च कसरी जुटाउने रु अर्को छोरा सानै छ ।”
भदौ २४ गतेको दिन स्मरण गर्दै दिलकुमारी भन्नुहुन्छ, ‘‘एक हजार लिएर आमा म स्कुटी सर्भिसिङ गरेर आउँछु है भनेर गएको थियो तर छोरा फर्केन, छोराको श्वास भेट्न सकिन्छ कि भनेर आफँै किष्ट मेडिकल कलेज पुगेँ, त्यो बेला यसको निधन भइसकेको रहेछ ।’’ दिलकुमारी भन्नुुहुन्छ, ‘‘घरको सबै काम गर्ने उही महेश थियो । लुगाधुने, खाना पकाउने, औषधि ल्याउने, खुवाउने काम गर्न रमाउँथ्यो ।’’ अहिले पनि छोरासहित बसेको घरमा बस्न गाह्रो भएपछि छोराको याद कम होला कि भनेर केशवको परिवार केही पर कोठा सरेर बसेको छ ।
मृतक महेशले नै आफ्नै भाइलाई २३ गतेको आन्दोलनमा धेरै मान्छे मरेको र २४ गते झन् समस्या हुनसक्ने र काम गर्न नजानु भन्दै २३ गते बेलुकी सम्झाएको बुबा केशव बताउनुहुन्छ । केशव भन्नुहुन्छ, ‘‘भाइलाई सम्झायो तर आफूले छोडेर गयो । म बिहानै काम गर्न जाने भएकाले त्यस दिन छोरासँग भेट हुन पाएन एकैपटक छोरा मरेको खबर पाएँ, मैले केही सोच्न सकिन ।’’
महेशको कोटेश्वरमा प्रहरीको गोली लागेपछि मृत्यु भएकै अवस्थामा एक स्थानीय व्यापारीले उनलाई किस्ट मेडिकल कलेज लगेका थिए । छोरा अस्पतालमा छ भन्ने खबर पाएलगत्तै महेशका बुबा आन्दोलनका कारण गाडी नचलेकाले सुकेधाराबाट तीन घण्टा लामो हिँडेर किस्ट मेडिकल अस्पताल पुग्नुभएको थियो, उहाँ पुग्दा महेशको मृत्यु भइसकेको थियो । छोराको लास भेटेको बताउनुभयो । बुढाथोकी परिवारलाई राज्यले रु १५ लाख दिएको भए पनि अन्य कतैबाट खासै सहयोग र सद्भाव पनि नआएको उहाँको भनाइ छ ।























