बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम


कैलाली, मंसिर १२। धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री बेचेर मासिक रु ७० हजार आम्दानी गर्दै आउनुभएको छ । लामो समयदेखि उहाँले आफ्नो हस्तकला सीप प्रयोग गरी बेतका विभिन्न सामग्री निर्माण गरी बिक्री गर्दै आउनुभएको हो।
सुरुमा व्यवसाय सुुरु गर्दा आर्थिकस्थित एकदमै कमजोर थियो । घरखर्च र जीविकोपार्जनमा समस्या हुँदै आएकामा अहिले सोही व्यवसायबाट परिवारको सम्पूर्ण खर्चसँगै केही बचतसमेत हुन थालेको चौधरीले बताउनुभयो ।
सुरुका दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाउन कठिन भए पनि अहिले यसको माग बढ्दै गएको छ । “अहिले बजार पनि पाउन थालेकाले बिक्री प्रशस्त हुन्छ”, उहाँले भन्नुभयो, “अहिले ग्राहकको माग अनुसार सामग्री पु¥याउन सकिरहेका छैनौँ ।”
व्यवसायी चौधरीले बेतबाट हेङुगर, फूलदानी, पिर्का, झुला, चुरा राख्ने हेङ्गरलगायत विभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनुभएको छ । हेङुगर रु एक हजार ६००, फूलदानी ४५०, कुर्ची तीन हजार, बस्ने पिर्का रु ३५० देखी रु ४००, झूला रु दुई हजार ५०० मा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
मासिक रूपमा रु ७० हजार बराबरको कारोबार हुने जनाउँदै चौधरीले करिब ४० प्रतिशतसम्म फाइदा हुने बताउनुुभयो । विदेश नगएर थोरै भए पनि आफ्नै गाउँठाउँमा काम गरेर आर्थिकोपार्जन गर्नुपर्दछ भन्ने सोचले सो व्यवसायमा आवद्ध भएको भनाइ छ ।























