‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

रासस


दोलखा । काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उनलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा गाउँमा स्वागत गर्न पाउँदा कालीनाग माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर सिवाकोटीको खुसीको सीमा थिएन । सिवाकोटीले खरेललाई मन्त्री वा सञ्चारकर्मीका रूपमा भन्दा बढी आफ्नो विद्यार्थीका रुपमा सम्झने बताउँछन् ।
उत्तरी दोलखाको सिँघटीमा आयोजित हालैको एक कार्यक्रमका क्रममा सिवाकोटीले खरेललाई पढाउँदाका विगत सम्झना ताजा भएको बताए । “खरेल विद्यार्थीकालमै भाषण कलामा तेज थिए, उनी तथ्य र तर्कसहित गज्जबको प्रस्तुति दिन्थे, विद्यालयका तत्कालीन प्रधानाध्यापक देवराज शर्माले यो भाइले बोलेरै खान्छ भन्नुहुन्थ्यो, नभन्दै त्यस्तै भयो”, उनले सुनाए ।
बाल्यकालका तिनै विद्यार्थी खरेल हाल मन्त्री छन् । करिब २५ वर्ष टेलिभिजनका पर्दामा तथ्यलाई अगाडि सारेर नेता तथा राज्य सञ्चालकलाई खरो प्रश्न गर्ने उनको शैली धेरैले मन पराए । टेलिभिजन कर्मबाट विकास र सुशासनका पक्षमा आवाज उठाएकै कारण आज खरेल मन्त्री बनेका छन् ।
निवर्तमान प्रधानाध्यापक सिवाकोटी आफूले पढाएको विद्यार्थीलाई मन्त्रीका रूपमा विद्यालयमा स्वागत तथा अभिनन्दन गर्न पाउँदा भावुक भए । उनले भने, “हामीले पढाएको विद्यार्थी मन्त्री हुनुभयो, हाल विद्यालयमा पढिरहेका विद्यार्थी पनि भोलि यो ओहदामा पुग्छन् भन्ने मेरो विश्वास अझ बलियो भएको छ । यसका लागि विद्यार्थीले अवसर पाउनुपर्ने र शिक्षक तथा अभिभावकले अवसर दिनुपर्ने आवश्यकता छ ।”
सिवाकोटीका अनुसार विद्यालयमा हुने वक्तृत्वकला, सांस्कृतिक पर्व, मेलाहरूमा खरेलको आवाज छुट्दैनथ्यो । वाककलामा मात्रै होइन, खेलकुदमा पनि उनी उत्तिकै अब्बल थिए । सहभागी भएपछि पदक नजित्ने कुनै खेल थिएनन् ।
सिवाकोटीको भनाइ सुनेपछि सञ्चारमन्त्री खरेलले आफू एउटा जिम्मेवारीका साथ सरकारमा पुगेको र इमानदारिताका साथ काम गरिरहेको बताए । उनले भने, “हाल म जुन जिम्मेवारीमा छु, यो सम्पूर्ण उपलब्धिको श्रेय विद्यालय र गुरुवर्गलाई सुम्पन चाहन्छु ।”
खरेलले सुनखानीको कालीनाथ माध्यमिक विद्यालयमा कक्षा १ देखि प्रवेशिका (१० कक्षा) सम्मको अध्ययन गरेका थिए । सञ्चारमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेकाका मन्त्री खरेललाई विद्यालयले भव्य कार्यक्रमबिच अभिनन्दन गरेको थियो । उनलाई अभिनन्दन गरेपछि सिवाकोटीले भने, “एउटा गुरुको हैसियतले मैले धेरै गर्न सकिन होला, जीवनमा कति काम लाग्ने कुरा सिकाएँ त्यो भन्न सक्दिनँ, तर जे भए पनि तपाईँ यहाँसम्म आफ्नो मेहनत, इमानदारिता र लगशीलताका कारण पुग्नुभएको हो, थप बढी प्रगतिको शुभकामना दिन्छु ।”
सञ्चारमन्त्री खरेलले विद्यार्थी तथा अभिभावकले सपना बोकेर र कल्पना गरेर मात्र नहुने भन्दै जीवन सफल बनाउनका लागि ठुलो त्याग र मेहनत आवश्यक हुने धारणा राखे । उनले विद्यालयमा उपस्थिति बालबालिकालाई लक्षित गर्दै भने, “अल्छीपन जीवनको शत्रु हो, त्यसैले जे कुरा गर्न चाहनुहुन्छ, आजैबाट सुरु गर्नुस् अनि तपाईँ सफल हुनुहुन्छ । बच्चाको सफलताका लागि अभिभावकले व्यवहार, आचरण र सभ्यता सिकाउनु पर्छ ।”
अध्ययन, खेलकुद, भाषणलगायत सबै खाले प्रतियोगितामा सुनखानीका विद्यार्थी अब्बल रहेको उल्लेख गर्दै मन्त्री खरेलले विद्यालयमा राजनीति नगर्न शिक्षक र अभिभावकलाई अनुरोध गरे ।
विद्यार्थी रोशन आचार्यले पनि मन्त्रीका रूपमा अग्रजलाई स्वागत गर्न पाउँदा खुसी लागेको सुनाए । उनले भने, “टेलिभिजनको पर्दामा देखेको व्यक्ति मन्त्री भएर विद्यालय आउँदा हामीलाई निकै खुसी लागेको छ, हामीलाई मेहनत गर्नका लागि अझ बढी हौसला मिलेको छ ।”

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















