बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित


रुपन्देही । दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।
इन्धन बोकेका ट्रक तथा ट्याङ्कर घरै अगाडि सडकमा पार्किङ गरेर राख्दा जोखिम बढेको तिलोत्तमा–७ भलबारीस्थित मनकामना टोल विकास संस्थाका अध्यक्ष विसन शाही बताउँछन् । केही वर्षअघि भलबारी डिपोमा आगलागी हुँदा त्रास बढेको भन्दै स्थानीयले सङ्घर्ष समिति गठन गरी डिपो तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटक पटक ज्ञापनपत्र बुझाएका छन् ।ज्ञापनपत्रमा तत्काल डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउने, त्यसअघि ट्याङ्करको निश्चित स्थानमा पार्किङको व्यवस्था, बुटवल–भैरहवा सडकखण्डको ‘सर्भिस लेन’मा ट्रक ट्याङ्कर पार्किङ गर्ने अवस्था तत्काल हटाउनेलगायत विषय उल्लेख गरिएको सङ्घर्ष समितिका संयोजक गङ्गा शाहीको भनाइ छ ।
निगमको लुम्बिनी प्रादेशिक डिपो प्रमुख शैलेन्द्र भुसाल भलबारी डिपोमा जग्गा अभावका कारण तत्काल भण्डारण क्षमता र पार्किङ क्षेत्र विस्तार गर्नसक्ने अवस्था नरहेको बताए । रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र रुकुम पूर्वसहित बागलुङका केही पम्पमा इन्धन आपूर्ति गर्दै आइरहेको छ । सो डिपोअन्तर्गत २०० भन्दा बढी डिलर सञ्चालित छन् । डिपोमा इन्धन ल्याउने र डिलरमा पु¥याउन करिब ३०० ट्रक ट्याङ्कर छन् । भलबारी डिपोमा अमलेखगञ्जबाट डिजेल तथा पेट्रोल भारतको बेतालपुर डिपोबाट आयात हुँदै आएको छ । भलबारी डिपोमा हाल पेट्रोलको ५१९ किलोलिटर, डिजेल तीन हजार ५० किलोलिटर र मट्टितेलको भण्डारण क्षमता १४० किलोलिटर रहेको छ ।
दैनिक ३०० किलोलिटर पेट्रोल, सात सय किलोलिटर डिजेल र १२ किलोलिटर मट्टितेल बिक्री हुँदै आएको छ । सरकारले हरेक प्रदेशमा तीन महिनासम्म पुग्ने भण्डारण क्षमता वृद्धि गर्ने भने पनि बिक्री अवस्थाका आधारमा सो डिपोको मौज्दात न्यून छ । भलबारी डिपोको हालको मौज्दातले पेट्रोल दुई दिन, डिजेल करिब चार दिनको माग धान्ने प्रमुख भुसालले जानकारी दिए ।
सडक अवरुद्ध भए चार दिनमै डिपो ‘रित्तिने’ डर भण्डारण क्षमता न्यून भएपछि सडक अवरुद्ध हुँदा वा इन्धन लोड हुन नसक्दा डिपो ‘रित्तिने’ अवस्था देखिएको प्रमुख भुसालको भनाइ छ । केही कारणले एक/दुई दिन इन्धन लोड हुन नसकेमा डिपो खाली हुने र बिक्री वितरणमा समस्या पर्न सक्ने अवस्था रहेको उनले बताए ।
केही महिनाअघि वर्षाका कारण बुटबल–नारायणगढ सडक अवरुद्ध हुँदा अमलेखगन्जबाट इन्धन ल्याउन नसकिएपछि डिपोले पोखराबाट इन्धन आपूर्ति गरेको थियो । भलबारी डिपो स्थानान्तरण गर्न रुपन्देहीकै रोहिणी खोला किनारमा जग्गा व्यवस्थापन गरिएको छ । निगमले बस्तीभन्दा टाढा र पर्याप्त जग्गा रहेका कारण सो क्षेत्रमा आधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने घोषणा गरे पनि अझै प्रक्रिया अघि बढ्न सकेको छैन ।























