‘दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनुपर्छ’


काठमाडौँ, मंसिर ६। जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरुलाई फ्लू लाग्नसक्ने हुन्छ ।जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार विशेषगरी चिसो बढ्न थालेपछि श्वासप्रश्वासका समस्या बढी देखिन थाल्छ । जसमा छाती, मुख, नाक तथा फोक्सोमा सङ्क्रमण बढ्नसक्ने सम्भावना धेरै हुन्छ ।
“जो–जो जोखिम वर्ग छन् विशेषगरी दीर्घरोगीहरु सुगर, प्रेसर, टिबीलगायत रोगप्रतिरोधात्मक क्षमता कम गर्ने खालका रोगहरु भएकालाई फ्लूलगायत अरु सङ्क्रमण हुने सम्भावना अलिक बढी हुन्छ”, उहाँले भन्नुभयो ।फूलू भएकालाई टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जीउ र मांसपेशी दुख्ने, नाक बन्द हुने, थकान महसुस हुने लगायतका लक्षणहरु देखिन सक्छन् तर तर फ्लू भएका सबैलाई ज्वरो नलाग्न पनि सक्छ ।
चिकित्सकका अनुसार यसलाई रोकथाम गर्न बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्छ ।
जनरल फिजिसियन डा परशुराम घिमिरेका अनुसार फ्लूबाट बच्न न्यानो कपडा लगाउने, तातो ठाउँमा बस्नुपर्छ । “सकेसम्म पानी झोल अथवा खानेकुराहरु प्रशस्तमात्रामा खानुपर्यो । मास्कको प्रयोग गर्ने, स्वस्थ्यकर खानपानमा ध्यान दिनुपर्छ, निमोनिया तथा फ्लूको खोप पाइन्छ । त्यो पनि लगाउँदा जोगिन सकिन्छ”, डा घिमिरे भन्नुहुन्छ ।






















