कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा


खाँदबारी (सङ्खुवासभा), मङ्सिर ५ । कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तथ्याङ्क सार्वजनिक गरेको छ ।सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनमार्फत उक्त तथ्याङ्कबारे जानकारी गराउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग र युएनडिपी नेपालको सहकार्यमा चार वटा हिमतालका लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयन भइरहेको उहाँको भनाइ छ । तल्लो वरूणमा रहेको ठूलोपोखरी पनि सो योजनामा समावेश छ ।
हिमताल फुट्ने अवस्था उत्पन्न भए अरुण उपत्यकाका धेरै बस्ती तथा भौतिक संरचना प्रत्यक्ष जोखिममा पर्ने उहाँको भनाइ छ । तिब्बत क्षेत्रबाट बगेर आउने १३ वटा हिमताल पनि उत्तरी भेगका लागि सम्भावित खतरा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा इसिमोडकी नीरा श्रेष्ठ प्रधानले विपद्मा असक्त, महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने हुँदा तिनलाई लक्षित चेतना अभिवृद्धि र क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमतालको दीगो व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालगायत सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा हिमताल व्यवस्थापन, जोखिम न्यूनीकरण तथा स्थानीय तयारीबारे विस्तृत छलफल भएको थियो ।






















