विद्यालय आउन ढिला हुँदा सय पटक उठबस, विद्यार्थीको मृत्यु


नयाँ दिल्ली । मुम्बईको बसईमा १३ वर्षीया छात्राको मृत्युलाई लिएर निकै विवाद भइरहेको छ ।ढिलो स्कुल आइपुगेको भन्दै १०० पटक उठबसको सजाय दिइएपछि ती छात्राको स्वास्थ्य बिग्रियो । यसैका कारण उनको मृत्यु भएको छात्राको परिवारको आरोप छ । विद्यालयकी एउटी महिला शिक्षिकाले ढिलो आइपुगेको भन्दै उनलाई सो सजाय दिएकी थिइन् । यसपछि सजाय पाएकी एक १३ वर्षीया बालिका अचानक बिरामी परिन् । गएको शुक्रबार राति मुम्बईको जेजे अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो ।
मृतक बालिका बसई पूर्वको सतिवली क्षेत्रको कुवरा पाडा परिसरमा रहेको एक विद्यालयमा छैठौं कक्षामा पढ्थिन् । यो विद्यालयमा आठ कक्षा सम्मको मात्रै पढाई हुन्छ । नोभेम्बर ८ को बिहान, केही विद्यार्थीहरू ढिलो स्कुल आइपुगे, जसमा यी विद्यार्थी पनि थिइन् । केही विद्यार्थीले आफ्नो स्कूल झोला काँधमा राखेर उठबस गरे । स्कुलबाट घर फर्केपछि बालिकाको स्वास्थ्य बिग्रियो । उनलाई तुरुन्तै उपचारको लागि बसईको आस्था अस्पतालमा भर्ना गरियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई अर्को अस्पतालमा लगियो । अवस्था झन् झन् बिग्रिएपछि उनलाई उपचारको लागि मुम्बईको जेजे अस्पतालमा ल्याइयो । शुक्रबार (नोभेम्बर १४)को राति करिब ११ बजे उपचारको क्रममा उनको मृत्यु भयो ।
के भन्छ प्रहरी ?
‘बालिकाका अभिभावकले नोभेम्बर ८ मा केही विद्यार्थीहरू ढिलो स्कूल आइपुगेको रिपोर्ट गरे, जसमा यी विद्यार्थी पनि थिइन् । विद्यालयमा जम्माजम्मी ५० जना विद्यार्थी थिए । शिक्षकले ढिलो आउनेलाई १०० पटक उठबस को सजाय दिए ।’ बसईको वालिव प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक दिलीप घुगेले बीबीसी मराठीलाई भने । ‘छात्रा घर पुग्दा उनको खुट्टा दुखिरहेको थियो । परिवारले उनलाई नजिकैको अस्पताल लगे । त्यसपछि नोभेम्बर १० मा उनलाई जेजे अस्पतालमा भर्ना गरिएयो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो,’ घुगेले भने ।
‘उठबसको सजायकै कारण उनको मृत्यु भएको छात्राको मातापिताको गुनासो छ । हामी यस विषयमा स्कूलमा अनुसन्धान गरिरहेका छौं ।’ वालिभ प्रहरीले यस घटनामा एडीआर (दुर्घटना मृत्यु रिपोर्ट) दर्ता गरेको छ । पोस्टमार्टम रिपोर्ट कुरिरहेको प्रहरीले भनेको छ । मेडिकल रिपोर्टमा छात्राको हेमोग्लोबिन स्तर केवल चार मात्र रहेको खुलासा भएको छ, जुन अत्यन्तै कम हो ।
स्कुलविरुद्ध छानबिन समिति गठन
स्कूलमाथि छानबिन गर्न एक समिति गठन गरिएको पालघरकी प्राथमिक शिक्षा अधिकृत सोनाली माटेकरले बीबीसी मराठीलाई बताइन् । ‘यस तरिकाले विद्यार्थीहरूलाई सजाय दिनु गलत हो । यसले शिक्षा अधिकार ऐनको उल्लङ्घन गर्दछ । बच्चाहरूलाई यसरी सजाय दिन सकिँदैन । अभिभावकहरू भन्छन् कि बालिकालाई उठबस गर्न लगाइएका कारण मृत्यु भएको हो । म मृत्युको कारण स्पष्ट पार्न सक्दिन, तर हामीले स्कुलमाथि अनुसन्धान सुरु गरेका छौं,’ उनले भनिन् । शिक्षा अधिकार ऐनको उल्लङ्घन गरेकोमा स्कूल विरुद्ध कारबाही गरिने र सम्बन्धित महिला शिक्षिकालाई पनि तुरुन्तै कारबाही गरिने पनि उनले बताइन् ।






















