मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी


दमौली (तनहुँ), मङ्सिर ४ । मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् ।
उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । उक्त पुलमा ४७ दशमलव ५२ प्रतिशत भौतिक र ४७ दशमलव नौ प्रतिशत वित्तीय प्रगति भएको उहाँको भनाइ छ । उहाँले हालसबै सबै चार वटा पाइलक्याप, एक सय २० वटा पाइल निर्माण सम्पन्न भएका जानकारी दिनुभयो ।
पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र सम्पन्न भएको छ । यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सम्पन्न भइसकेका छन् ।
कुँवरका अनुसार ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा एउछा बाँकी छ भने ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको छ । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म रहेको छ ।























