जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोदनमा श्रीयमको बलिदानी


बेलबारी (मोरङ), मङ्सिर ४ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भई पढाइको सिलसिलामा काठमाडौँ रहनुभएका श्रीयम चौलागाईंको उच्च शिक्षा आर्जन गरी देशभित्रै बसेर समुन्नत जीवन जिउने उत्कट चाहनाबीचमै तुहिन पुग्यो ।
आफ्नो छोराको मृत्युलाई सार्थक बनाउन जेनजी सहिद परिवार सङ्घर्ष समितिमा पनि उहाँ आबद्ध हुनुुहुन्छ । मृतकको परिवारलाई न्याय महसुस गराउन राज्यसँग १४ बुँदे मागसहित समिति बनाएर लागिपरेको गणेश बताउनुहुन्छ । यसमा भदौ २३ गतेको घटनाका दोषीलाई कारबाही, मृतक परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पेन्सनलगायत माग गरिएको छ । तीमध्ये कतिपय माग पूरा हुँदै गरेको उहाँले बताउनुभयो । यति ठूलो राजनीतिक घटनाक्रममा भएका सहिदप्रति कोशी प्रदेश सरकार र बेलबारी नगरपालिकाले कुनै चासो नदेखाएकोप्रति दुःख लागेको गणेशले बताउनुभयो ।
सबैभन्दा ठूलो कुरा त, जुन उद्देश्यका लागि श्रीयम र अरू थुप्रै नवजवानले ज्यान दिए, त्यो उद्देश्यअनुरूप देश बनाउन सरकार र राजनीतिक दल एकजुट भएहुन्थ्यो भन्ने उहाँको भनाइ छ । भदौ २३ गते श्रीयम देशलाई सुशासन साथै दिगो निकास दिनुपर्छ भन्ने उत्साहका साथ आन्दोलनमा सहभागी बने तर विडम्बना अब उनी सकुशल घर फर्कन सकेनन् । श्रीयमका लक्ष्मी मार्ग रहनुभएका काका राजन चौलागाई भन्नुहुन्छ, “हामीले हाम्रो सन्तान गुमायौँ, देशले एक असल युवा गुमायो । सहिदको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।”
श्रीयमका मामा केशव कार्कीले भन्नुहुन्छ, ‘‘भाञ्जा पढाइमा तेज थिए । राजनीतिमा खासै चासो थिएन जस्तो लाग्छ तर त्यो आन्दोलनमा जान्छु होला भनेर दुई दिनअघि मात्र विदेशमा रहेकी दिदीसँग कुरा भएको रहेछ ।’’ श्रीयमले इटहरीस्थित मामासँगै बसेर कक्षा ९ र १० पढेका थिए । केशव भन्नुहुन्छ, ‘‘उनी देशलाई निकास दिनुपर्छ भन्ने उत्साहका साथ भदौ २३ को आन्दोलनतिर हिँडे तर अब उनी सहिद भए ।’’ भदौ २३ गते म रङ्गशालामा खेलाडी छनोट प्रक्रियामा थिए, एक्कासि भाञ्जालाई गोली लागेको खबर आयो कार्की बताउनुहुन्छ ।
‘‘म आफैँ ट्रमा सेन्टर पुगेको थिएँ, जहाँ मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देखेँ, एक्कासि टाउको फुट्ला जस्तो भयो । सम्हालिन धेरै बेर लाग्यो । सँगैहुर्काएको र पढाएको अनिसँगै हिँडेको सम्झनाले भतभती पोलिरह्यो । घरमा खबर गर्ने हिम्मत पनि तुरुन्त जुटेको थिएन’’ उहाँले भन्नुभयो ।
सहिद श्रीयमले कक्षा ९ र १० सुनसरीको इटहरी ५ स्थित रहेको मकालु बोर्डिङ स्कुलमा अध्ययन गर्नुभएको हो । स्कुलका पिन्सिपल थानेश्वर ढकाल भन्नुहुन्छ ‘श्रीयम पढाइमा अत्यन्तै लगनशील, मेहनती र इमान्दार विद्यार्थी थिए, उसका साथीहरु र शिक्षक शिक्षिकाका प्रिय थिए श्रीयम ।’ श्रीयमले त्यस विद्यालयमा दुई वर्ष मात्र अध्ययन गर्नुभएको थियो । जेनजी आन्दोलनमा उहाँ सहिद भएपछि उहाँको सम्झनामा विद्यालयले केही स्मरणीय कार्य गर्ने योजना बनाएको प्रिन्सिपल ढकालले बताउनुहभयो ।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको गरिसकेको छ । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेकामध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरिएको हो ।






















