चितवनका दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन


चितवन, मङ्सिर २ । जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो ।सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो ।
रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको मार्टमा झुवानीस्थित आफ्नै उद्योगबाट उत्पादित समग्रीको बिक्री बितरण गर्दै आएको छ । सङ्घका अध्यक्ष किसोर वगालेकाअनुसार सङ्घले यहाँ घ्यू, नौनी, पनिर, खुवा, दूध, दहीलगायतका उत्पादन सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।
उद्योगलाई बिक्री गरिएको दूधको भुक्तानी समयमा नपाउँदा किसान र सहकारीले समस्या झेल्दै आएका छन् । यहाँका किसानले दूग्ध विकास संस्थान र निजी क्षेत्रको गरी रु ७० करोड बढी भुक्तानी पाउन सकेका छैनन् ।






















